
नाइजर सेनाका जनरलले आफूलाई देशको नयाँ नेता घोषणा गरेका छन् । जिहादीबाट अतिप्रभावित अफ्रिकी राष्ट्रको नयाँ नेता घोषणा गरेका उनले आफ्नो कदमविरुद्ध हुने कुनै पनि विदेशी सैन्य हस्तक्षेपले अराजकता निम्त्याउने चेतावनी दिएका छन् ।
सन् २०११ देखि राष्ट्रपतिका प्रमुख सुरक्षाकर्मी रहेका जनरल अब्दुरहामाने त्चियानीले राष्ट्रिय टेलिभिजनबाट मुलुकको सुरक्षाका लागि राष्ट्रिय परिषद्को अध्यक्षसमेत बनेको घोषणा गरेका छन् । सार्वजनिक जीवनबाट टाढै रहेका पाँच दशकको उमेरका उनले जिहादीको आक्रमण र रक्तपातले देशको सुरक्षा स्थितिमा ह्रास आएकाले आफूले सैन्य विप्लव गरेको तर्क गरेका छन् ।
आतङ्कवादविरुद्धको लडाइँमा छिमेकी बुर्किना फासो र मालीसँगको कुनै किसिमको सहयोग एवम् साझेदारी नगर्ने उल्लेख गर्दै जनरल अब्दुरहामाने त्चियानीले उनीहरूको सुरक्षा दृष्टिकोण र दायरामाथि प्रश्न गरेका छन् । साथै उनले प्रजातान्त्रिक रूपमा निर्वाचित राष्ट्रपतिबाट सत्ता हत्याएकामा अन्तर्राष्ट्रिय निन्दाको परबाह नगरी विदेशी सैन्य हस्तक्षेपबाट आउने गम्भीर परिणामको चेतावनी दिएका छन् ।
लामो समयसम्म नाइजरलाई आफ्नो उपनिवेश बनाएको फ्रान्सले विद्रोहीहरूलाई अस्वीकार गर्दै वैधानिक राष्ट्रपति बाजुमलाई पुनःस्थापना गर्न माग गरेको छ । संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले पश्चिम अफ्रिकी मुलुक नाइजरमा बुधबार राति भएको सैनिक विद्रोहको निन्दा गर्दै राष्ट्रपति मोहम्मद बाजुमलाई निःशर्त रिहा गर्न आह्वान गरेको छ ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले बाजुम सरकारप्रति वासिङ्टनको दृढ समर्थन रहेको दोहोर्याउँदै उनलाई अपदस्थ गरेर दशौँ लाख डलरको अमेरिकी सहायता जोखिममा पारेको बताएका छन् । साथै उनले नाइजरमा संवैधानिक व्यवस्था र लोकतान्त्रिक शासनको पूर्ण पुनर्स्थापना सुनिश्चित गर्न अमेरिकाले काम गरिरहने बताएका छन् ।
सैन्य विद्रोहबारे जानकारी पाउनेवित्तिकै वासिङ्टनले सुरक्षा तथा अन्य सहयोग बन्द गर्ने चेतावनी दिएको थियो । यद्यपि नाइजरमा तैनाथ करिब एक हजार अमेरिकी सेना फिर्ता हुने छैनन् ।
युरोपेली सङ्घले विद्रोहलाई नाइजरको स्थायित्व र लोकतन्त्रका लागि गम्भीर आक्रमण भन्दै सहायता कटौती गर्ने धम्की दिएको छ ।