३० असार २०८३, मंगलबार

हतुवागढी गाउँपालिकामा महिनाको १ दिन श्रमदान

साउन १४, २०८०
भोजपुर
हतुवागढी गाउँपालिकामा महिनाको १ दिन श्रमदान

भोजपुरको हतुवागढी गाउँपालिकाको पर्यटकीय क्षेत्रमा लालीगुँरासहित ४०० बढी बिरुवा रोपिएका छन् ।

गाउँपालिकास्तरीय श्रमदान अभियान सञ्चालन गरेर घोडेटार, जोर आहाल संखाम, दिमालुङ निर्माणाधीन पैदलमार्गमा लालीगुँरास, धुपी लगायतका ४५० बिरुवा रोपिएका हुन् ।

प्रत्येक महिनाको १ दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष प्रेमकुमार राईले जानकारी दिए । यो निर्णयसँगै अब वडाहरूले पनि महिनामा १ दिन श्रमदानको कार्यक्रम सञ्चालन गर्ने उनको भनाइ छ । 

‘श्रमदान अभियान सञ्चालन गरेर यहाँको पर्यटकीय क्षेत्रमा ४०० बढी बिरुवा रोप्ने काम सम्पन्न गरेका छौं,’ अध्यक्ष राईले भने, ‘आगामी दिनमा यो अभियानलाई निरन्तरता दिने निर्णय गरेका छौं । अब महिनामा १ दिन पालिकास्तरीय श्रमदान अभियान सञ्चालन गर्छाैं ।’

निर्माण भइरहेको पदमार्गलाई लक्षित गरेर अभियान शुरूआत गरिएको उनको भनाइ छ । पैदलमार्गमा पर्यटकलाई आकर्षित गर्ने खालका बिरुवा रोपिएको अध्यक्ष राईले जानकारी दिए ।

‘घोडेटार, जोर आहाल संखाम, दिमालुङ पैदलमार्ग हाम्रो गौरवको योजनाका रूपमा रहेको छ,’ उनले भने, ‘यसलाई यहाँको मुख्य पर्यटकीय पदमार्गका रूपमा स्थापित गर्ने लक्ष्य छ । पर्यटकलाई लक्षित गरेर विभिन्न जातका ‘अर्नामेन्ट प्लान्ट’ रोपेका छौं ।’

पदमार्गलाई वडा नम्बर ३ मा करीब १४ रोपनी क्षेत्रमा निर्माण भइरहेको दिमालुङ स्मारक उद्यान र त्यही नजिकै वडा नम्बर २ मा रहेको करीब ६० रोपनी क्षेत्रमा निर्माण भएको दिमालुङ उद्यानसम्म विस्तार गर्ने लक्ष्य रहेको उनको भनाइ छ । दिमालुङ स्मारक उद्यान र दिमालुङ उद्यानलाई गाउँपालिकाको योजना र प्रदेश सरकार तथा गाउँपालिकाको २ करोड १३ लाख लागतमा संरक्षण तथा विकास गरिएको अध्यक्ष राईको भनाइ छ ।

यो रकममध्ये ७५ लाख लागतले दिमालुङ उद्यानमा सिमेन्ट र तारजाली सहितको घेराबारा, शौचालय, गेट निर्माण लगायत संरचना निर्माण गरिएको उनले जानकारी दिए । बाँकी रहेको रकमबाट दिमालुङ स्मारक उद्यान निर्माण गरिएको उनको भनाइ छ । यो स्मारक उद्यानलाई अझ विस्तार गर्नका लागि केन्द्र र प्रदेश सरकार तथा सम्बन्धित निकायसँग बजेट माग गर्ने गाउँपालिकाले जनाएको छ । 

‘यहाँ निकै ठूलो क्षेत्रमा दिमालुङ स्मारक पार्क र दिमालुङ पार्क निर्माण भइरहेको छ,’ उनले भने, ‘उपलब्ध बजेटमध्ये दिमालुङ पार्कको संरक्षण तथा विकास गरेका छौं । खास गरेर यहाँ पर्यटकलाई लक्षित गरेर बगैंचासँगै वनभोजस्थल निर्माण गर्ने लक्ष्य छ । निर्माणाधीन दिमालुङ स्मारक पार्कलाई अझ विकास तथा विस्तार गर्न सम्बन्धित निकायसँग बजेट माग गर्ने योजना छ ।’

श्रमदान अभियानमा गाउँपालिका अध्यक्ष राई, उपाध्यक्ष सुनिता किराती, गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत कर्णकुमार लिम्बू, सम्पूर्ण वडाका वडाध्यक्ष, टोल विकास संस्था, गाउँपालिकाका कर्मचारी, स्थानीयवासी लगायतले श्रमदान गरेका हुन् ।
 

salt training

कमेन्ट गर्नुहोस्