
नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष लक्ष्मी कुँवरले संघलाई आगामी दिनहरूमा स्तरोन्नति गरेर अझ प्रभावकारी बनाउने बताएकी छिन् । साथै उत्कृष्ट संस्थाको रुपमा विकास गर्न संस्था सम्बद्ध सबैले मन, वचन र कर्मले काम गर्नुपर्ने उनले बताइन् ।
संघको ३९औं वार्षिक साधारणसभाको अवसरमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा उनले संघलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सक्षम रुपमा स्थापित गर्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रसँग समन्वय गरेर अगाडि बढ्नुपर्ने बताइन् ।
संघकी अध्यक्ष कुँवरले सम्पूर्ण प्रहरी कर्मचारीका परिवारहरूको साझा चौतारीको रूपमा रहेको संघलाई आगामी दिनमा समय सापेक्ष बनाउँदै लैजानुपर्ने बताइन् ।
विगतमा भएका कार्यहरूको विश्लेषण गरी नयाँ नीति तथा कार्यक्रम बनाई संघको उद्देश्य परिपूर्तिका लागि सबै पदाधिकारीहरूको सहयोग प्राप्त हुने उनको विश्वास थियो ।
