२४ जेठ २०८३, आइतबार

जापान पुगेकी प्रेमिकाले समय नदिँदा मलेसियामा रहेका प्रेमीलाई तनाव भएपछि...

साउन १८, २०८०
काठमाडौं
जापान पुगेकी प्रेमिकाले समय नदिँदा मलेसियामा रहेका प्रेमीलाई तनाव भएपछि...

वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका म्याग्दीको मंगला गाउँपालिका– ५ सिर्कुमका २७ वर्षीय प्रकाश जैसी भन्ने प्रकाश विकलाई साइबर ब्यूरोले इन्टरपोलको सहयोगमा पक्राउ गरेर नेपाल झिकायो ।

ब्यूरोमा परेको जाहेरीका आधारमा ४ महिनाअगाडि इन्टरपोल नेपाल शाखामार्फत ‘रेडकर्नर नोटिस’ जारी गरी साउन १४ गते नेपाल झिकाइएको थियो । प्रहरीले उनलाई साउन १६ गते सार्वजनिक गर्‍यो ।

‘उनीविरुद्ध साइबर अपराधको जाहेरी परेपछि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरेर नेपाल ल्याएका हौं,’ साबइर ब्यूरोका निर्देशक प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) नविन्द अर्यालले भने ।

विक ७ महिनाअगाडि मात्र वैदेशिक रोजगारीका लागि मलेसिया पुगेका थिए । उनलाई मलेसियाको प्रहरीले पक्राउ गरेर अनुसन्धानपछि नेपालमा डिपोर्ट गरेको थियो । 

उनी सामाजिक सञ्जालमार्फत बसेको प्रेम र त्यसको दुरुपयोगका कारण पक्राउ परेका हुन् । 

प्रेम कहानीदेखि ‘जापान काण्ड’सम्म...

म्याग्दीको बेनीकी २३ वर्षीया जेनिसा (नाम परिवर्तन) जापानमा छिन् ।

उनी विगत २ वर्षदेखि अध्ययनका लागि जापान बस्दै आएकी हुन् । पक्राउ परेका प्रकाश विकसँग शुरूमा उनको सामान्य चिनजान थियो । दुवै म्याग्दीकै भएकाले सामान्य चिनजान भएको हो । 

तर, जेनिसा जापान गएपछि भने उनीहरू सामाजिक सञ्जालमा बाक्लै कुरा गर्न थाले । त्यो कुराकानी प्रेममा परिणत भयो । दैनिक घण्टौंसम्म कुराकानी हुन्थ्यो ।

प्रकाशले जापान जानका लागि विभिन्न प्रयास गरे, सफल हुन सकेनन् ।

त्यसपछि ७ महिना अगाडि मात्र वैदेशिक रोजगारीमा मलेसिया गए । त्यहाँबाट पनि उनीहरूको कुराकानी भइरहन्थ्यो । सामाजिक सञ्जालमार्फत करिब १ वर्ष उनीहरूको प्रेम सम्बन्ध चल्यो ।

उनीहरूबीच प्रत्यक्ष भिडियो कुराकानी हुन्थ्यो । पछि विस्तारै कुराकानी पातलियो । जेनिसाले कामको व्यस्तताले समय दिन सकिनन् ।

तर, प्रकाश उनीप्रति पागल भइसकेका थिए । एक घण्टा कुराकानी नहुँदा पनि रिसाउने र बारम्बार कल गर्ने गर्थे । चाहेको बेला कुराकानी हुन नसकेपछि जापानमा अर्कै प्रेमी भेटेर आफूलाई वास्ता नगरेको आरोप प्रकाशले लगाए । यही विषयलाई लिएर उनीहरूबीच झगडा भयो ।

त्यसपछि निम्तियो तनाव । प्रकाशले कुराकानीको सबै भिडियो रेकर्ड गरेर राखेका रहेछन् । नग्न भएर गरेको कुराकानीको भिडियो समेत उनीसँग सुरक्षित रहेछ ।

प्रकाशले रिसको झोंकमा आफूले रेकर्ड गरेको भिडियो जेनिसाका आफन्तलाई पठाउन थाले ।

आफन्त र दाजुभाइले त्यसो नगर्न प्रकाशलाई सम्झाइरहेका थिए, तर उनी रोकिएनन् । निरन्तर भिडियो पठाइरहे ।

एक दिन उनले पोर्न साइटमा ‘नेपाली भा..को जापान काण्ड’ भनेर भिडियो अपलोड गरिदिए ।

त्यसपछि त्यो भिडियो संसारभरि फैलियो । जेनिसाले पनि देखिन् । आफ्नी दिदीलाई सम्पूर्ण वृत्तान्त सुनाइन् र साइबर ब्यूरोमा उजुरी हालिदिन आग्रह गरिन् ।

उनकी दिदीले म्यादीको बेनीबाट काठमाडौं आएर साइबर ब्यूरोमा प्रकाशविरुद्ध जाहेरी दिइन् ।

त्यसपछि प्रहरीले प्रकाशका गतिविधिहरू सूक्ष्म अनुसन्धान गर्‍यो । 

प्राविधिक अनुसन्धानपछि उनी वैदेशिक रोजगारीका लागि गएको मेलेसियाको सबै ठेगाना, उनले भिडियो अपलोड गरेको ‘आईपी’ लगायतका प्रमाण पुष्टि गर्‍यो ।

अनुसन्धानमा उनी दोषी देखिएपछि पक्राउका लागि इन्टरपोलमार्फत रेडकर्नर नोटिस जारी गरियो ।

साइबर ब्यूरोका प्रहरी निरीक्षक (इन्स्पेक्टर) राजकुमार खड्गीका अनुसार प्रहरीले उनले अपलोड गरेको भिडियो हटाउनका लागि पोर्नसाइटमा पत्र समेत पठाएको छ ।

‘हामीले त्यो वेबसाइटलाई पत्र पठाएका छौं, सम्भवतः हटाइसक्यो होला, तर सञ्जालबाट पूरै निष्क्रिय भने भएको छैन,’ इन्स्पेक्टर खड्गीले लोकान्तरसँग भने ।

पक्राउ परेका प्रकाशले आफूले भिडियो अपलोड गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा स्वीकारेका छन् । रिसको झोंकमा त्यसो गरेको उनको बयान छ ।

‘प्रकाशले बयानमा आफूले भिडियो अपलोड गरेको स्वीकारेको छ,’ खड्गीले भने । 

अहिले विद्युतीय कारोबार ऐन– २०६३ अन्तर्गत उनीमाथि अनुसन्धान भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्