१९ असार २०८३, शुक्रबार

जेलमुक्त लालबहादुरको जीवनमा ‘नाटकीय’ मोड ! अनुहारमा छैन हाँसो, मनमा पीडाको पहाड

साउन १८, २०८०
विराटनगर
जेलमुक्त लालबहादुरको जीवनमा ‘नाटकीय’ मोड ! अनुहारमा छैन हाँसो, मनमा पीडाको पहाड

इटहरी उपमहानगरपालिकाको तरहरा चोक नजिकैको फूलबारी टोलमा जंगल छेउ लालबहादुर विश्वकर्माको घर छ । जुन टोलमा जंगली जनावरहरूले पनि दुःख दिइरहन्छन् ।

फूलबारी टोलको चोकमा एउटा कालोपत्रे बाटो छ । त्यो कालोपत्रे बाटो छाडेपछि ३ वटा बाटा परिवर्तन गरेपछि मात्रै लालबहादुरको घरमा पुगिन्छ । उनको घरमा छिर्ने बाटो भने ३ फिटको मात्रै छ । त्यहीँ बाटो भएर उनको घरमा पुगिन्छ ।

मोटरसाइकल मात्रै उनको घरमा पुग्छन् । १० धुर जग्गामा टिनको छानो भएको सामान्य घर छ । घर भएको जग्गा उनको मात्रै होइन, बुवा हर्कबहादुर विश्वकर्माले २ छोरालाई संयुक्त रूपमा अंशमा दिएका हुन् । लालबहादुर र दाजुलाई ५–५ धुर जग्गा भागमा परेको थियो ।

हिजो मात्रै झुम्का कारागारबाट जेलमुक्त भएका उनै लालबहादुर विश्वकर्मालाई भेट्न घरमा पुग्दा उनी भेटिएनन् । छिमेकमै रहेका आफन्तको घरमा श्रीमतीसहित बसेका थिए । उनलाई खोज्दै हामी आफन्तको घरमा पुगेर परिचय दिएपछि उनले एकछिन पर्खिन आग्रह गरे ।

‘घरमै गएर गफ गरौं’ भनेपछि उनी तयार भए । उनको अनुहारमा कुनै हाँसो थिएन । परिवारका सदस्यहरू हाँसीखुशी हुँदा उनी भने पीडामै थिए । घरको रेखदेख गर्ने व्यक्ति नै जेल परेपछि पीडामा परेका परिवारका सदस्य खुशी नहुने कुरै भएन तर विश्वकर्माको पीडा  भने आफ्नो सीपले आफैंलाई पुनः फसाउने हो कि भन्ने थियो ।

null

उनी पेशाले सुनका सामग्री बनाउने कालिगड हुन् । उनले सीपसँगै ऋणको भारले पनि पोल्ने गरेको भन्दै पीडाहरू सुनाए ।

हिजो बिहानसम्म झुम्का कारागारभित्र रहेका विक अहिले आफ्नै घरमा छन् । घरमा आएपछि ऋण तिर्ने र घर व्यवहार टार्ने चिन्ताले सताएको उनले बताए । पहिला पनि आफ्नो सीपको प्रयोग गरेर पाखुरा चलाउँदा फसेको र अब त्यही सिप प्रयोगमा ल्याउँदा पुनः फसिन्छ कि भन्ने डर लाग्ने गरेको उनले सुनाए ।

‘बिहान–बेलुका हातमुख जोर्नका लागि फेरि पनि आफ्नो सीपलाई प्रयोग गर्छु,’ उनले लोकान्तरसँग भने, ‘त्यहीँ सीपले फेरि जेलमा पुर्‍याउँछ कि भन्ने डर छ ।’

ज्याला मजदुरीका क्रममा साहुले अह्राएको काम गरेबापत उनलाई डेढ वर्ष कैद र ७० हजार जरिवाना सुनाइएको थियो । ४ करोड ७१ लाख बिगो भुक्तानी गर्नुपर्ने दायित्व पनि उनको काँधमा आइपरेको थियो । जायजेथा बेच्दा समेत रकम तिर्ने सम्भावना नभएपछि उनले अघिल्लो मंसिरमा प्रहरीसमक्ष आत्मसमर्पण गरेका थिए । 

लालबहादुर वैदेशिक रोजगारीको सिलसिलामा दुबई गएर फर्किएका हुन् । दुबईबाट फर्किएपछि उनले घर बनाएका थिए । इटहरीकै तरहरामा रहेको सिंहदेवी ज्वेलर्समा काम गर्दैगर्दा उनी जेलमा परेका हुन् । त्यहाँ उनी ज्यालामा काम गर्थे । गहना बनाउने मात्रै नभई पसलको सरसफाइ समेत उनैले गर्ने गर्थे । एउटा सिक्री बनाएको उनले ८०० रुपैयाँ र १०० मिली हात लस पाउँथे । तार बनाएर तान्दा सुन झरेको धुलोलाई ‘लस’ भन्ने गरिन्छ । 

कालिगड भएकाले उनको ध्यान पनि काममा नै हुने गरेको थियो । उनले दैनिक १ हजारदेखि १ हजार ५०० रुपैयाँसम्म कमाउने गरेका थिए । उनले त्यो सुन पसलमा ३ वर्ष काम गरे ।

‘साहुको कारोबारबारे कामदारलाई जानकारी हुँदैन । साहु डुब्दै गएका रहेछन् । साहु बाहिरबाहिरै डुल्ने गर्थे । म भने काममा व्यस्त हुन्थे ।  साहुका बुवा कृष्ण सुन पसलमा बस्थे । सुन पसलमा बस्दा २ जना दिदीहरूले १५–१५ लाख रुपैयाँ ल्याउनुभएको रहेछ, बुवा कृष्णबहादुरले एकैपटक १ लाख गन्न सक्नुहुँदैन्थ्यो । उहाँले ५०–५० हजार गरेर गनेर थन्क्याइसकेपछि मलाई फोन गरेर बोलाउनुभयो । पैसा दिएको कुरा लेखिदे भन्नुभयो । मलाई पनि ज्ञान भएन । मिति, नाम र पैसा लेखिदिए । मलाई फसाउने उहाँहरूको नियत के थियो, थाहा भएन । पछि साहु दीपक आएर मेरो हस्ताक्षर मेटेर आफ्नै हस्ताक्षर गर्नुभएको रहेछ । काम गर्दागर्दै मुद्दा पर्‍यो । मैले ५–६ वर्ष मुद्दा धाएँ । २ लाख धरौटी तिरे । २ हजार, ४ हजार खोजेर धरौटी तिरेको थिएँ । अझै ऋण तिर्न सकेको छैन । ९० हजार तिर्न बाँकी छ । जिल्ला अदालतको फैसलाले आकाश नै खसे जस्तो भयो । धेरै कुरा सोचें, सुसाइट नै गरौं जस्तो लाग्यो । श्रीमान्–श्रीमतीबीच सल्लाह हुन्थ्यो । श्रीमतीले तपाईंले फट्याइ गर्नुभएको छैन भनेर हौसला दिइन्,’ उनले भने ।

null‘मैले न्याय पाइनँ’ भनेर सामाजिक सञ्जालमा भिडियो हालेपछि सबैले सहयोग गरेका कारण आफू जेलमुक्त भएको उनले बताए । हाम्रो देशमा न्याय निर्मूल भएको छ कि जस्तो लागेको भए पनि उच्च अदालतको फैसलापछि न्याय मरेको रहेनछ भन्ने लागेको उनले बताए । 

उनले आफ्ना कुरा भन्दै गर्दा बिर्सिने गरेका थिए । उनलाई श्रीमतीले सम्झाउने गरेकी थिइन् । 

हिजोका दिनमा दुःख पाए पनि पुनर्जीवन पाए जस्तो भएको श्रीमती दिलकुमारीले बताइन् । उनले अहिले पनि श्रीमान्को सोझोपनको फाइदा उठाउने हुन् कि भन्ने चिन्ता रहेको बताइन् । निर्दाेष व्यक्तिले ९ महिनासम्म जेलमा बस्नुपरेकाले राज्यले क्षतिपूर्ति दिनुपर्ने उनको भनाइ रहेको छ । क्षतिपूर्तिका लागि वकिलहरूसँग छलफलमा रहेको उनले सुनाइन् । 

२ वटा पासबूकमा हस्ताक्षर गरिदिएको अभियोगमा लालबहादुर दोषी ठहर भएका थिए । दीपकले १८ प्रतिशत ब्याज दिने प्रलोभन देखाएर २७५ जनाबाट १८ करोड ८४ लाख ६६ हजार ८८९ रुपैयाँ संकलन गरेको अभियोग पुष्टि भएको थियो । 
 

salt training

कमेन्ट गर्नुहोस्