राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागीले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण भ्रमण गरेका छन् ।
उनले राष्ट्रको भौगोलिक अखण्डता, सार्वभौमसत्ताको संरक्षण र नागरिकको सुरक्षा हेतु विद्यमान समयमा राष्ट्रिय सुरक्षाका सम्बन्धमा समयमै सम्बोधन गर्दै लगिनुपर्ने विभिन्न विषयहरू रहेको हुँदा सम्पूर्ण सुरक्षा निकाय लगायत सरोकारवाला निकायबीच एकीकृत आपसी समन्वयका साथ सहकार्य गर्दै राष्ट्रिय सुरक्षालाई थप प्रभावकारी बनाउँदै लैजानुपर्ने र राष्ट्रिय सूचना प्रणालीको सुरक्षातर्फ पनि सचेत हुन जरुरी रहेको बताए ।
सशस्त्र प्रहरी बल नेपालले देशको सीमा सुरक्षालाई उच्च प्राथमिकतामा राखी कार्यसम्पादन गर्दै आइरहेको बताउँदै उनले सीमा सुरक्षा तथा व्यवस्थापनमा अझ बढी प्रविधि तथा डिजिटल बोर्डरको अवधारणालाई समेट्दै अघि बढ्नुपर्ने बताए ।
निरीक्षण भ्रमणका क्रममा राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीले प्रधान कार्यालयबाट सम्पादन भइरहेका विविध गतिविधि तथा कामकारवाहीको जानकारी लिनुका साथै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयस्थित संग्रहालय र केन्द्रीय समन्वय कक्षको अवलोकन समेत गरेका थिए ।
उनले सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम र बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृत तथा बाहिनी मुख्यालयका बाहिनीपतिहरूसँग प्रत्यक्ष भिडियोमार्फत राष्ट्रिय सुरक्षासँग सम्बन्धित विषयवस्तुमा छलफल तथा अन्तर्क्रिया गरेका थिए ।
कार्यक्रममा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले राष्ट्र र नागरिकको सेवा र सुरक्षामा परिचालित सशस्त्र प्रहरी बल नेपालले नेपाली जनताले अपेक्षा गरे बमोजिमको सुरक्षा प्रदान गर्दै नेपालको भौगोलिक सीमाभित्र मात्र नभई अन्तर्राष्ट्रिय सुरक्षामा समेत आफ्नो उपस्थिति जनाउँदै आइरहेको बताए ।
उनले संगठनले नेपाल सरकार तथा मजकुर गृह मन्त्रालयका नीति, कार्यक्रम, आदेश, निर्देशनहरूलाई अक्षरस पालना गरी अन्य सुरक्षा निकायसँग सहकार्य र समन्वय गर्दै संवेदनशील र चुनौतीपूर्ण राष्ट्रिय सुरक्षाको जिम्मेवारीमा उल्लेखनीय भूमिका निर्वाह गर्दै आइरहेको बताए ।
महानिरीक्षक अर्यालले राष्ट्रहितको संरक्षण र नागरिकको सुरक्षामा आफूलाई समर्पित गर्न संगठनले हरेक पक्षबाट आपूmलाई बलियो रूपमा प्रस्तुत गरिरहेको उल्लेख गर्दै जिम्मेवारी अनुरूपको भूमिका निर्वाह गर्न थप जनशक्ति र स्रोतसाधन उपलब्ध गराउने कार्यमा रचनात्मक, पहलकदमी र भूमिका रहने विश्वास समेत व्यक्त गरे ।
सशस्त्र प्रहरी नायव महानिरीक्षक शम्भु सुवेदीले सशस्त्र प्रहरी बल नेपालको परिचय, परिचालन र राष्ट्रिय सुरक्षा नीति लगायत विद्यमान सुरक्षा चुनौतीहरू, सीमा सुरक्षा, विपद् व्यवस्थापन, महत्त्वपूर्ण व्यक्ति तथा प्रतिष्ठानको सुरक्षा, औद्योगिक सुरक्षा, हुल तथा दंगा व्यवस्थापन, रेलवे सुरक्षामा सशस्त्र प्रहरी बल नेपालको भूमिका सम्बन्धमा प्रस्तुतीकरण प्रस्तुत गरेका थिए ।
कार्यक्रममा नेपाली सेनाका उपरथी र राष्ट्रिय सुरक्षा परिषद्का सहसचिवको उपस्थित रहेको थियो ।