
निर्माण व्यवसायीहरूले माग सम्बोधन नभए देशभर निर्माण कार्य ठप्प पार्ने चेतावनी दिएका छन् । शुक्रवार उनीहरूले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भेला भई निर्माण उपकरणसहित धर्ना दिएका हुन् ।
कार्यक्रममा निर्माण व्यवसायीहरूले पूर्ववर्ती सरकारले गरेका गल्तीहरू सच्याएर देश विकासका लागि सरकार सच्चिन आवश्यक रहेको बताए । उनीहरूले बजेट दिन नसक्ने आयोजनाहरू खारेज नगरे देशमा निर्माण व्यवसायीहरूको आन्दोलन थप चर्किने चेतावनी दिए ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका सांसद पूर्णबहादुर तामाङले रक्षा मन्त्रालय नै ठेक्कापट्टामा लागेको भन्दै रक्षा मन्त्रालयले सुरक्षा व्यवस्था चुस्त बनाउने कि ठेक्का पट्टामा लाग्ने हो ? भन्दै प्रश्न गरे । उनले सरकारले निर्माण व्यवसायीको माग पूरा नगरे आफूले सांसदको पद त्याग्ने बताए ।
निर्माण व्यवसायीहरू प्लेकार्डमा मात्रै एकत्रित हुने नभई जुनसुकै बेलामा एकत्रित हुनुपर्ने उनले बताए । लामो ग्याप गरेर भुक्तानी नरोक्न सरकारलाई सुझाव दिँदै उनले प्रत्येक महिनाको ग्याप राखेर रकम भुक्तानी गर्न आग्रह गरे ।
विरोध कार्यक्रममा बोल्दै महासंघका पूर्वअध्यक्ष जयराम लामिछानेले निर्माण व्यवसायीहरू सरकारबाट नै ठगिरहेको गुनासो गरे । उनले सरकारको काम निर्माण व्यवसायीहरूले गरेकाले कामको भुक्तानी सबैभन्दा पहिला गर्नुपर्ने बताए ।
महासंघका पूर्वअध्यक्ष यक्षध्वज कार्कीले ढुंगामाटोसँग खेल्ने निर्माण व्यवसायीहरूलाई सडकमा आन्दोलन गर्न बाध्य नबनाउन सरकारसँग आग्रह गरे । सरकारले आफ्ना मागहरूको अन्देखा गरिएको आरोप लगाउँदै माग पूरा नगरे देशभर निर्माण ठप्प बनाउने उनले चेतावनी दिए ।