
उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले तामाङ र मगर समुदायको धर्नामा भएको प्रहरी हस्तक्षेपप्रति दु:ख व्यक्त गरेका छन् ।
आज (सोमवार) मन्त्रालयमा तामाङ घेदुङ र मगर संघका अध्यक्ष सहितका प्रतिनिधिहरूको ज्ञापनपत्र बुझ्ने क्रममा गृहमन्त्री श्रेष्ठले घटनाको गम्भीर अनुसन्धानगरी दोषी प्रहरीलाई कारवाही गर्ने प्रतिबद्धता जनाएका हुन् । उनले घाइतेको उचित उपचार गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।
तामाङ र मगर समुदायका विषयमा विवादास्पद अभिव्यक्ति दिने अधिवक्ता भगवती पाण्डेलाई तत्काल कारवाही गर्न उजुरी दिए पनि समयमै सुनुवाइ नभएको भन्दै साउन १७ गते नेपाल तामाङ घेदुङ संघीय समिति र नेपाल मगर संघ केन्द्रीय समितिको ब्यानरमा टेकु प्रहरी परिसर अगाडि धर्ना दिएको थियो। धर्नामा प्रहरी हस्तक्षेप हुँदा तीन दर्जन बढी घाइते भएका थिए।

सोही दिन पक्राउ परेकी अधिवक्ता पाण्डे केही घण्टामा जिल्ला अदालत काठमाडौंको आदेशले रिहा भए पनि प्रदर्शनकारीलाई प्रहरी हिरासतभित्र चरम यातना दिइएको तामाङ घेदुङ र मगर संघले बताएका छन्। मरणासन्न घाइते दर्जनौं महिला र पुरुष आन्दोलनकारीको उपचार भइरहेको संघले जनाएको छ ।

अधिवक्ता पाण्डेमाथि कारवाही, धर्ना र हिरासतमा यातना दिन आदेश दिने प्रहरी अधिकारी तथा संलग्नमाथि कारवाही तथा उचित क्षतिपूर्ति एवम् उपचारको माग गर्दै तामाङ घेदुङ र मगर संघले गृहमन्त्री श्रेष्ठलाई ज्ञापनपत्र दिएका हुन्।