२१ जेठ २०८३, बिहीबार

बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोमै तुलना गर्न सकिने

साउन २२, २०८०
काठमाडौं
बैंकको ब्याजदर थोरै वा धेरै ? अब हाम्रो पात्रोमै तुलना गर्न सकिने

नेपालको लोकप्रिय एप ‘हाम्रो पात्रो’ले बैंकको ब्याजदर तुलना गर्न सकिने फिचर प्रयोगमा ल्याएको छ । एपमा सोमवारदेखि बैंक रेट नामक नयाँ फिचर थपिएको हो । 

‘बैंक रेट’ फिचरको सहयोगमा प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदरबारे सहज जानकारी पाउने हाम्रो पात्रोले जनाएको छ । 

‘प्रयोगकर्ताले निश्चित बैंकमा रहेका विभिन्न खाता तथा त्यसमा उपलब्ध ब्याजदर तथा कुन बैंकमा खाता खोल्दा धेरै ब्याज आउँछ अथवा कुन बैंकले सस्तो ब्याजदरमा ऋण दिन्छ भन्ने जस्ता जानकारी सहजै फेला पार्न सक्नेछन्,’ सोमवार विज्ञप्ति जारी गर्दै हाम्रो पात्रोले जानकारी गराएको छ । बैंकमा रहेका विभिन्न खातामा उपलब्ध ब्याजदर थाहा पाउन बैंकको नाम र खाताको प्रकार छनोट गर्नुपर्ने हुन्छ । 

‘एक बैंकको ब्याजदरलाई अर्को बैंकको ब्याजदरसँग तुलना गर्नका लागि भने माथि दायाँ कुनामा रहेको तुलनाको आइकन (विपरीत दिशामा फर्किएका दुई धर्सा)मा क्लिक गरी ‘कम्पेयर विथ’मा तुलना गर्न चाहेका कुनै दुई खाता रोज्नुपर्ने हुन्छ । सब डोमेनको रूपमा राखिएको बैंक रेटभित्र बचत खातामा उपलब्ध ब्याजदर तुलना गरेजस्तै गरी विभिन्न बैंकहरूले दिने लोन (ऋण) को ब्याजदर समेत थाहा पाउन र तुलना गर्न सकिन्छ’ हाम्रो पात्रोकी सेल्स एन्ड मार्केटिङ हेड सुजाता गौतमले भनिन् । 

यसका लागि तल बीच भागमा रहेको ‘लोन’मा क्लिक गर्नुपर्ने पात्रोले जनाएको छ । त्यससँगै ऋण रकमको किस्ता कति पर्न आउँछ भन्ने कुरा समेत थाहा पाउन सकिने ईएमआई क्याल्कुलेटर पनि दिइएको छ । 

बैंक रेट नामक फिचर सार्वजनिक गरेको हाम्रो पात्रोले सम्बन्धित बैंकहरूसँगको समन्वयमा यो सुविधालाई परिष्कृत गर्दै लैजाने योजना रहेको जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्