
राप्रपा नेपाल केन्द्रीय समितिको बैठक आगामी भाद्र ७ र ८ गते काठमाडौँमा बोलाइएको छ ।
महामन्त्री राजाराम बर्तौलाले बैठकमा पार्टी अध्यक्ष कमल थापाले राजनैतिक कार्यपत्र सहित जनआन्दोलनको खाका समेत प्रस्तुत गर्ने कार्य तालिका रहेको बताए । "यो बैठक पार्टीको भावी कार्यदिशा र कार्य योजना सहित सैद्धान्तिक वैचारिक पक्षलाई थप स्पष्ट पार्दै अघि बढ्नेछ" महामन्त्री बर्तौलाले भने ।
विभिन्न ब्यक्ति, समूह, अभियान, पार्टीमा रहेका राष्ट्रवादी प्रजातान्त्रिक शक्तिलाई एकै ठाउँमा ल्याउन पार्टीले भरमग्दुर प्रयास गर्ने तथा राप्रपा नेपाललाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्ति बनाउन सबैको साथ , सहयोग र समर्थन लिने गरी पार्टीलाई अघि बढाइने कार्य योजना प्रस्तुत हुने उनको भनाइ छ ।
बैठकमा अध्यक्ष थापाको राजनीतिक कार्यपत्र तथा आन्दोलनको खाकासहित महामन्त्री भास्कर भद्राको सचिवालय सम्बन्धी प्रतिवेदन, महामन्त्री सुशील श्रेष्ठको प्रशिक्षण सम्बन्धी प्रतिवेदन ,महामन्त्री राजाराम बर्तौलाको संगठन सम्बन्धी प्रतिवेदन ,कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीको आर्थिक प्रतिवेदन सहित राजसंस्थाको बारेमा उपाध्यक्ष डाक्टर विष्णु भण्डारीको नेतृत्वमा गठित कार्यदलले पनि प्रतिवेदन पेस गर्नेछ।