
मोरङको जहदा गाउँपालिकामा ५ जना छात्रालाई बालयौन दुव्यर्वहार गरेको आरोपमा १ जना शिक्षक पक्राउ परेका छन् ।
जहदा गाउँपालिकास्थित जनप्रिय आधारभूत विद्यालयमा अध्ययरत ५ छात्रालाई दुव्यर्वहार गरेको आरोपमा जहदा–१ कुल्हडिया टोल बस्ने २७ वर्षीय शिक्षक विकाशकुमार साह पक्राउ परेका हुन् । साहले पछिल्लोपटक जेठ ३२ गते १ छात्रालाई यौन दुव्र्यवहार गरेको उजुरी परेको छ ।
५ जना छात्रालाई यौन दुव्यर्वहार गरेको आरोप लागेका साह करारका शिक्षक हुन् । उनी विज्ञान विषयका शिक्षक हुन् । उनीमाथि गत वर्ष पनि विद्यार्थीलाई दुव्र्यवहार गरेको आरोप लागेको थियो । त्यसबेला स्कूलमा घटना मिलाइएको थियो ।
दोस्रोपटक ५ जना छात्रामाथि दुव्र्यवहार गरेको घटना बाहिरिएपछि उनीविरुद्ध पीडित छात्राका अभिभावकले प्रहरीमा उजुरी दिएका छन् । ‘होमवर्क मिलेन’ भन्दै सर्टभित्र हात लैजाने, तिघ्रा सुम्सुम्याउने, चिमोट्ने जस्ता यौनजन्य दुव्र्यवहार पटक–पटक गर्दै आएको आरोप उनीमाथि लागेको छ ।
मोरङ प्रहरीमा बालयौन दुरुपयोगको मुद्दामा जाहेरी दर्ता गराएका छात्राहरूले यसअघि पनि दुव्र्यवहार गर्ने गरेको बताएका छन् । प्रहरीमा जाहेरी परेपछि शिक्षक साह पक्राउ परेका छन् । ‘पीडित छात्राहरूका अभिभावकले जाहेरी दिएपछि शिक्षकलाई पक्राउ गरी अनुसन्धान गरिएको हो,’ मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले भने, ‘अनुसन्धान पूरा गरेर अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।’
नियमित विद्यालय जाने छात्राहरू अचानक स्कूल नजाने भन्दै रुने गर्न थालेपछि अभिभावकले सोधिखोजी गर्न थालेपछि बालयौन दुव्र्यवहारको घटना बाहिर आएको हो ।
यौन दुव्र्यवहारको आरोपमा पक्राउ परेका शिक्षक साहलाई जिल्ला सरकारी वकिलको कार्यालयले सोमवार बालयौन दुरुपयोग मुद्दामा अभियोग दर्ता गरेको छ ।
सरकारी वकिलको कार्यालयले मुलकी अपराध संहित २०७४ को दफा २२५ को उफदा (१) र (२) बमोजिमको कार्य कसूर गरेकाले उनलाई ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँ जरिवानाको माग दाबी लिएर जिल्ला अदालत मोरङमा अभियोग दर्ता गरेको छ ।