२९ असार २०८३, सोमबार
थाइल्यान्ड भन्दै म्यानमार पुर्‍याउने धन्दा

मानव बेचबिखनमा चिनियाँ गिरोहः अपराध कर्ममा लगाउन थाइल्यान्ड पुर्‍याइँदै नेपाली युवायुवती

साउन २४, २०८०
काठमाडौं
मानव बेचबिखनमा चिनियाँ गिरोहः अपराध कर्ममा लगाउन थाइल्यान्ड पुर्‍याइँदै नेपाली युवायुवती

नेपाली युवा/युवतीलाई विभिन्न प्रलोभनमा पारी म्यानमार पुर्‍याएर ‘अनलाइन स्क्यामिङ’सहितका अपराध कर्ममा लगाउने गिरोह नै सक्रिय रहेको पाइएको छ ।

चिनियाँ नागरिक जोनसन भनिने लियाङ जनसहितले थाइल्यान्ड पठाउने भन्दै नेपाली युवा/युवतीलाई म्यानमार पुर्‍याउने र त्यहाँ अवैध क्रियाकलापमा सहभागी गराउने गरेको खुलेको हो ।

त्यति मात्र हैन, आफूले भनेको नमान्दा नग्न भएर भिडियो कल गर्न लगाउने र विभिन्न किसिमका धम्की दिने गरेको समेत पीडितहरूले बताएका छन् ।

चिनियाँ नागरिकहरूको ‘चंगुल’बाट फुत्किएर नेपाल आइपुगेकी एक युवती र अन्य पीडितका आफन्तहरूले दिएको उजुरीका आधारमा काठमाडौं जिल्ला अदालतमा मुद्दा समेत पुगिसकेको छ ।

‘पछिल्लोसमय टुरिस्ट भिसाका नाममा मानव तस्करहरूले म्यानमार पुर्‍याएर नेपाली युवा/युवतीलाई अपराधमा लगाउने गरेको पाइएको छ,’ नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जीवनराम श्रेष्ठले भने । 

म्यानमार पुर्‍याइएका २६ जनाका आफन्त आफ्ना मान्छे फसेको भन्दै ब्यूरोमा पुगेका छन् । ५ वटा जाहेरी परेको छ ।

यसरी म्यानमार पुर्‍याइन्छन् नेपाली युवायुवती

काठमाडौंकी– २६ वर्षीया विनिता (नाम परिवर्तन) कामको खोजीमा थिइन् । खान/बस्नका लागि कमाइ आवश्यक थियो ।

उनले साथीहरूलाई काम खोजिदिन आग्रह गरेकी थिइन् ।

त्यसैक्रममा एक साथीमार्फत चिनियाँ नागरिकले लगानी गरेको वाईवाईपी नामक कम्पनीमा काम पाइन् ।

३ महिनाको तालिमपछि उनले ‘नेल आर्ट’ र मसाज गरेबापत मासिक १५ हजार पाउने गरी काम शुरू गरिन् । त्यसैगरी उनले करीब १ वर्ष बिताइन् ।

एक दिन कम्पनीका सञ्चालक चिनियाँ नागरिक जोनसन भन्ने लियाङ जन (पासपोर्ट नम्बरः ई९९९९४४२१) ले थाइल्यान्डमा मासिक १ लाख ५० हजार रुपैयाँ पाउने गरी जागिरको अफर आएको बताए ।

इच्छुकले खबर गर्न सक्ने भनेर प्रलोभन देखाए । स्वाभाविक रूपमा विनिता पनि उक्त प्रस्तावमा लोभिइन् । घरमा सल्लाह गर्दा उनकी बहिनी (परिवर्तित नाम : २६ बबरमहल– १९०) पनि थाइल्यान्ड जान राजी भइन् ।

जनले प्रतिव्यक्ति १ लाख रुपैयाँ लाग्ने र खान/बस्नका लागि कम्पनीले नै व्यवस्था गर्ने बताएका थिए । विनिता र उनकी बहिनीले आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरे । चिनियाँ नागरिक जनले ४/४ वटा पासपोर्ट साइजको फोटो र राहदानीको फोटोकपी मागेका थिए ।

भनेअनुसार कागजात बुझाएको करीब ३ हप्तापछि विनिताकी बहिनीको भिसा आएको बताइयो । भिसा आएपछि १ लाख रुपैयाँ बुझाएको विनिता बताउँछिन् ।

भनेअनुसार नै बहिनी थाइल्यान्ड पुगिन् । उताबाट काम पनि पाएको बताइन् । त्यसपछि विनिताको भिसा आयो । उनले पनि एक लाख रुपैयाँ बुझाइन् ।

२०७९ भदौ ९ गते विनितासहित ११ जना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट थाइल्यान्ड उडे ।

उनीहरूलाई अप्ठ्यारो पर्दा ‘वी च्याट’ ९८६६६६६६६३ नम्बर मा कुरा गर्न भनिएको थियो । साथमा २०० अमेरिकी डलर बोक्न निर्देशन दिइएको थियो ।

थाइल्यान्ड पुगेपछि एक चिनियाँ नागरिक उनीहरूलाई लिन आए । त्यहाँ उनीहरूको मोबाइल मागियो र फर्म्याट गरेर दिइयो ।

त्यसपछि उनीहरूलाई भ्यानमा राखेर केही घण्टाको यात्रा गराइयो । भ्यानबाट झरेपछि थाहा भयो, म्यानमार पुर्‍याइएछ ।

त्यहाँ करीब ३०/३२ वर्षका एक चिनियाँ नागरिकले उनीहरूको पासपोर्ट र मोबाइल जफत गरे ।

विनिताले ‘थाइल्यान्ड भनी म्यानमार ल्याउनुभएछ, खै मेरो बहिनीसँग भेट गराउनुस्’ भनिन् । ती चिनियाँ नागरिकले बहिनीसँग एक-दुई दिनमा भेट हुने बताए ।

साथै म्यानमारमा अझै धेरै कर्मचारी आवश्यक रहेकाले कम्प्युटरमा टाइप गर्ने कामका लागि ल्याइएको बताए ।

पछि अमेरिकामा रहेका पुरुषहरूसँग च्याट गरेर बिटक्वाइनमा लगानी गराउन भनियो । गलत काममा लगाउन लागेको थाहा पाएपछि आफूहरूलाई पठाउने व्यक्तिसँग कुरा गर्न खोज्दा उसले फोन नउठाएको विनिता बताउँछिन् ।

राति ९ बजेपछि फेसबूक, ह्वाट्सएप, ट्विटर र इन्स्ट्राग्राममार्फत विभिन्न व्यक्तिसँग प्रत्यक्ष कुराकानी तथा च्याट गर्न बाध्य बनाएको विनिताले सरकारी वकिलको रोहबरमा प्रहरीले लिएको बयानमा बताएकी छन् । 

राम्रोसँग खान पनि नदिई काम लगाउने, मानसिक र शारीरिक यातना दिने गरेको उनको बयान छ । विना पारिश्रमिक १८ घण्टासम्म काम गराउन थालेपछि विनिता बिरामी परिन् ।

उनलाई अस्पताल भर्न गरेर २० दिनसम्म राखियो । राम्रो उपचार नपाए ज्यानै जाने भनेर चिकित्सकहरूले बताएको उनको बयान छ ।

नेपाल फिर्ता जान्छु भन्दा १ लाख ५० हजार थाई भाट तिर्नुपर्ने भनेर रोकियो । धेरै नै बिरामी पर्न थालेपछि जाँदा लगेको पैसा बुझाएर उनलाई नेपाल आउन दिइयो ।

उनी त नेपाल फर्किइन्, तर बहिनी म्यानमारमै थिइन् । नेपाल फर्किएर उपचार गरी ठीक भएको थाहा पाएपछि फेरि म्यानमार फर्किन दबाब दिन थालिएको उनको बयान छ ।

उनीहरूले बहिनीलाई डर/त्रास देखाएर म्यानमार फर्किन विनितालाई दबाब दिइरहे । भनेको नमाने बहिनीलाई यातना दिइने गरेको उनले बताएकी छन् ।

त्यसपछि आफूलाई निर्वस्त्र भएर वीच्याटमा शरीरका गोप्य अंग देखाउन लगाएको समेत उनको बयान छ । उनकी बहिनी अहिलेसम्म पनि म्यानमारमा चिनियाँ दलालको जञ्जालमा छिन् ।

मानव बेचबिखन ब्यूरोले प्रहरी प्रधान कार्यालय हुँदै गृह र परराष्ट्र मन्त्रालयमार्फत उद्धारका लागि पहल गरेको ब्यूरोका प्रमुख एसएसपी जीवनराम श्रेष्ठले लोकान्तरलाई बताए ।

विनिताले दिएको उजुरीका आधारमा चिनियाँ नागरिक जोनसन भनिने लियान जनलाई पक्राउ गरी अदालतमा मुद्दा दायर गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्