
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गरेका छन् ।
बिहीवार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रचण्डले मन्त्रीहरूसँग छुट्टाछुट्टै कार्यसम्पादन सम्झौता गरेका हुन् ।
गत आर्थिक वर्ष २०७९/८० को वार्षिक समीक्षा र चालू आ.व. २०८०/८१ को कार्यसम्पादन सम्झौता गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
संघीय सरकारका २१ वटै मन्त्रालयले आफूले गर्ने कामको कार्यसूची पेश गरेपछि प्रधानमन्त्री र मन्त्रीहरूले संयुक्त हस्ताक्षर गरेर कार्यसम्पादन सम्झौता गरिएको हो ।
सम्झौतामा प्रत्येक मन्त्रालयले गर्ने कामको अलग-अलग कार्यसूची तयार पारिएको छ।
सम्झौतापत्रमा हासिल गर्नुपर्ने नतिजा सूचक राखिएको छ, जसमा नतिजा सूचक, भार इकाइ, आर्थिक वर्ष २०७९/०८० को समग्र स्थिति र आर्थिक वर्ष २०८०/०८१ को लक्ष्य निर्धारण गरिएको छ ।
त्यसैगरी सम्झौतापत्रमा सम्पादन गर्नुपर्ने प्रमुख कार्यहरू उल्लेख छ, जसमा कार्यक्रम र क्रियाकलापको सूची एवं सो जिम्मेवारी पूरा गर्नुपर्ने समयसीमा उल्लेख गरिएको छ।
मन्त्रालयहरूले गर्नुपर्ने प्रमुख कार्यहरूमा नेपाल सरकारको आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम र बजेट, प्रधानमन्त्रीले विभिन्न समयमा प्रतिनिधिसभा र नेपाल सरकारका सचिवहरूलाई गरेको सम्बोधन, नेपाल सरकारको एकीकृत कार्ययोजना आदि सूचकलाई आधार बनाइएको छ।
सम्झौतापत्रमा अनुगमन तथा अन्य व्यवस्था राखिएको छ, जसमा संघीय सरकारको नीति, कार्यक्रम र बजेट तथा कार्यक्रम कार्यान्वयन कार्ययोजना कार्यसम्पादन सम्झौताको अंगका रूपमा रहने व्यवस्था छ। सम्झौतामा कार्यसम्पादनको प्रगति मासिकरूपमा प्रधानमन्त्री कार्यालयमा अनलाइन प्रणालीबाट पठाउनुपर्ने र त्यसलाई मासिक तथा वार्षिक प्रतिवेदन र मूल्यांकनको आधार बनाइने उल्लेख छ।
कार्यसम्पादन सम्झौताको समयावधि १ वर्ष तोकिएको छ । 'यस सम्झौता अवधिभरमा मन्त्रीको पद रिक्त भएमा सो पदको कार्यभार सम्हाल्ने वा नयाँ नियुक्त हुने मन्त्रीले यस सम्झौताबमोजिमको बाँकी काम गर्नुपर्ने' व्यवस्था सम्झौतापत्रमा उल्लेख छ ।
कार्यसम्पादन सम्झौतामा हस्ताक्षरपछि प्रधानमन्त्रीले संघीय सरकारका मन्त्रीहरू र सचिवहरूलाई संयुक्त सम्बोधन गरेका थिए ।
सम्बोधनका क्रममा प्रधानमन्त्रीले तोकिएको कार्यादेश र कार्यविवरणअनुसार प्रभावकारी काम गर्न संघीय सरकारका मन्त्री र सचिवहरूलाई निर्देशन दिए ।