
नेपाल विद्युत् प्राधिकरणको नाफा १ अर्ब ४ करोड रुयाँले घटेको छ । प्राधिकरणले बिहीवार पत्रकार सम्मेलन गरेर कम्पनीको वित्तीय अवस्थाबारे जानकारी दिएको हो ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत आर्थिक वर्ष २०७९/८० मा १२ अर्ब ३३ करोड रूपैयाँ मात्रै नाफा कमाएको बताए । यस्तो नाफा अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा १३ अर्ब ३७ करोड रुपैयाँ रहेको थियो ।
गत आवमा सुख्खायामको समय बढेर खोला तथा नदीनालामा पानीको बहाब घट्दा प्राधिकरण र निजी क्षेत्रका जलविद्युत केन्द्रहरूको विद्युत उत्पादनमा कमी आएको प्राधिकरणले जनाएको छ । यसै कारण नाफा घटेको उनको भनाइ छ ।
उत्पादन घटेको अवस्थामा आन्तरिक माग धान्न भारतबाट गरिने आयात बढेको कारण प्राधिकरणले अघिल्लो वर्षको तुलनामा गत आवमा कम नाफा गरेको पनि घिसिङले बताए ।
दुई वर्षअघि ८१ अर्ब रुपैयाँ आम्दानी गरेको प्राधिकरणको कूल आम्दानी १ खर्ब १८ अर्ब रुपैयाँ पुगेको छ । आम्दानी बढेसँगै प्राधिकराणको सञ्चित नाफा पनि ११ अर्बबाट बढेर ३६ अर्ब ६७ करोड रुपैयाँ पुगेको घिसिङले बताए ।
प्राधिकरणले सर्वसाधारणमा शेयर जारी गर्ने घोषणा पनि बिहीवारको पत्रकार सम्मेलनमार्फत् गरेको छ ।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सर्वसाधारणको लागि शेयर जारी गर्ने प्रक्रिया अगाडि बढिसकेको र छिट्टै आम नेपालीको प्राधिकरणले हुने पनि बताए ।