
इटहरी उपमहानगरपालिकाले अवैध रुपमा नेटवर्किङ धन्दा चलाउने ३ वटा कम्पनी सिल गरेको छ । इटहरीका मेयर हेमकर्ण पौडेलले अवैध रुपमा नेटवर्किङ धन्दा गर्दै सर्वसाधारणलाई ठगी गरेको गुनासो आकाले कम्पनी सिल गरेर सञ्चालकलाई तीन दिन भित्र उपमहानगरमा उपस्थित हुन निर्देशन दिएको बताए ।
नेटवर्किङको नाममा ठगी धन्दा शुरु भएको भन्दै उजुरी परेपछि अहिले उपमहानगरले अनुगमन गरिरहेको छ।
कम्पनीमा आबद्ध व्यक्तिहरूले आफ्नो सम्पर्कमा रहेका र नयाँ चिनजानसमेत गरी उनीहरूलाई सामान्य व्यापार व्यवसाय र जागिरहरूको तुलनामा अथाह पैसा कमाउन सकिने आश्वासन बाँड्ने गरेपछि अनुगमन गरेर ताला लगाइएको मेयर पौडेलले बताए ।
इटहरीमा रहेको ग्लोबल ओरेन्स, हेल्दी लिभिङ नेपाल र रोयल एसोसेट नामक कम्पनीमा तालाबन्दी गरिएको हो । नेटवर्किङ र पिरामिड शैलीमा व्यापार व्यवसाय गरिरहेको पाइएपछि तालाबन्दी गरिएको उनले बताए ।
जटिल रोग निको पारिने भन्दै सयौं सर्वसाधारणबाट आफ्ना उत्पादन उपलब्ध गराउँदै रकम लिने गरेपछि अनुगमन तथा कारवाही थालिएको मेयर पौडेलले बताए ।