
नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मा पक्राउ पर्नुको कारण थाहा पाएपछि पार्टीको धारणा सार्वजनिक गर्ने बताएका छन् ।
बिहीवार सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै लेखकले आफूले पक्राउबारे भर्खरै थाहा पाएको बताए ।
उनले भने, ‘सांसद पक्राउको विषयमा हामीलाई भर्खरै जानकारी प्राप्त भएको छ । किन, के कारणले पक्राउ गरिएको हो भन्ने विषयमा हामी जानकारी लिइरहेका छौं । कारण थाहा पाएपछि हामी धारणा सार्वजनिक गर्छाैं ।’
सांसद शर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शैक्षिक प्रमाणपत्र अपुष्टित (नन भेरिफाइ) रहेको आरोपमा पक्राउ परेको छ ।