
अर्घाखाँचीमा आफैंले बोकेको बन्दुक पड्किँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–७ नुवाकोट पानडाँडाका ४५ वर्षीय पदम केसी छन् । आफ्नै बारीमा बाँदर धपाउन जाने क्रममा उनले बोकेको बन्दुक पड्किएर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी मुकुन्द रिजालले जानकारी दिए ।
शुक्रवार उनी आफ्नै घरमा अवैध रूपमा राखिएको बन्दुक बोकेर बाँदर धपाउन हिँडेका थिए । उनी बारीमा चिप्लिँदा एकनाले बन्दुक आफैं पड्किएको प्रहरीको अनुमान छ । उनको कोखामा गोली लागेर छातीबाट बाहिर निस्किएको प्रहरीले जनाएको छ ।
गोली लागेर घाइते भएका केसीको उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्कमा ल्याइएको थियो । अस्पताल ल्याउन साथ उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।
भरुवा बन्दुक नियन्त्रणमा लिएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।