२१ जेठ २०८३, बिहीबार

नेपालगञ्ज शहरमा टाँगा चल्न छाड्यो, घाँस बिक्री हुन छाड्यो !

साउन २८, २०८०
नेपालगञ्ज
नेपालगञ्ज शहरमा टाँगा चल्न छाड्यो, घाँस बिक्री हुन छाड्यो !

‘पानीमा रुझ्दै दिनभरि घाँस खोजेर बल्लबल्ल एक बोरा बनाइन्छ । त्यही पनि साँझ बेच्दा ५–१० रुपैयाँमा बेच्नुपर्छ । हाम्रो मेहनत र मर्का कसले बुझिदिने ?’ बाँकेका नेपालगञ्ज उपमहानगरपालिका–८ घसियारन टोलकी गुड्डी घरियार गुनासो गर्छिन् ।

उनले घाँस बेचेर आएको एकदेखि डेढ सयसम्मको कमाइले ६ जनाको परिवारलाई पाल्नुपरेको छ । उनी भन्छिन्, ‘श्रीमान् बिरामी भएदेखि परिवारको सबै जिम्मेवारी मेरै काँधमा आएको छ । श्रीमान् बिरामी नहुँदा उहाँले पनि मजदुरी गर्नुहुन्थ्यो र घर चलाउन सजिलो हुन्थ्यो । उहाँ बिरामी भएर थलिएदेखि उहाँको उपचार खर्चदेखि साँझ–बिहानको छाक टार्न मलाई धेरै नै मेहनत गर्नुपरेको छ ।’

गुड्डीलाई घाँस काट्नमा सघाउँछन् उनकी १७ वर्षीया छोरी सोनी घँसियारले । ३ कक्षा पढ्दापढ्दै स्कूल जान छाडेकी सोनी आमासँगै नेपालगञ्जका खाली चौरमा घाँस काट्न जान्छिन् । घाँस काटेर जीविकोपार्जन गर्ने गुड्डीको परिवार तेस्रो पुस्ताको परिवार हो ।
 
गुड्डीका अनुसार पहिला नेपालगञ्जमा टाँगा चल्ने गथ्र्यो र घाँस पनि राम्रै बिक्री हुन्थ्यो । हिजोआज टाँगाको ठाउँमा अटोरिक्सा चल्ने भएकाले मान्छेले घोडा पाल्न छाड्दै गए र घाँस किन्ने पनि घट्दै गए । ‘पहिला–पहिला घोडाका लागि घाँस किन्ने हिजोआज बाख्राका लागि घाँस किन्न आउँछन्,’ उनले भनिन्, ‘घोडाले खाने आहार र बाख्राले खाने आहारमा धेरै फरक हुन्छ । आहार फरक भएपछि घाँस खरिदसँगै कमाइ पनि घट्नु स्वाभाविक हो ।’

गुड्डीले जस्तै घाँस काटेर अनि बेचेर परिवारको जिम्मेवारी सम्हाल्दै आइरहेकी छन् मीना घँसियारले पनि । श्रीमान्को मृत्युपछि २ सन्तानसँगै जीविकोपार्जन गर्न मीना पनि गुड्डीजस्तै नेपालगञ्जका खाली ठाउँमा बोरा बोक्दै दिनभरि घाँस काट्न जान्छिन् । उनको पनि दिनभरिको घाँसबाट साँझ कमाइ भनेको त्यही सयदेखि डेढसय जतिको हुन्छ । 

‘घाँस किन्न आउनेले हाम्रो न मेहनत बुझ्छन् न त हाम्रा बालबच्चामा दया–माया नै देखाउँछन्,’ मलिन मुहार बनाउँदै उनी भन्छिन्, ‘हामीले २० भनेको घाँसलाई किन्नेले ५ रुपैयाँ भन्छन् । कसैले ५ त कसैले १० रुपैयाँ दिएर लैजान्छन् । साँझ परिसकेको हुन्छ । घरमा छोराछोरीलाई खाना पकाउने हतारोमा ५–१० रुपैयाँमा भए पनि बेच्न पर्ने हाम्रो बाध्यता छ ।’

वर्षाको समयमा भन्दा हिउँदको समयमा घाँसको मूल्यमा केही तलमाथि हुने भएकाले हिउँदमा दैनिक २००–३०० सम्मको कमाइ हुने बताउँछिन् मीना । घाँसबाट कमाएको पैसाले घरपरिवार चलाएर मीनाले डेढ लाख बचत गरेको जानकारी दिइन् । मीनालाई डेढ लाख बचत गर्न २० वर्ष लागेको बताइन् ।

‘छोरीको विवाहका लागि भनेर मैले २० वर्षदेखि घर खर्चबाट पैसा जोगाएर सहकारीमा डेढ लाख बचत गरेको थिएँ तर त्यो सहकारी नै भागेपछि मेरो वर्षाैंदेखिको कमाइ खेर गयो । मैले छोरीको विवाह गर्न सकिरहेको छैन,’ उनले दुःखी हुँदै भनिन् ।
 
मीना र गुड्डीको भन्दा फरक छैन, परेमपति घसियारको व्यथा पनि । ४० वर्षको उमेरमा हजुरआमा बनिसकेकी परेमपतिको ४ पुस्ता नै घाँसको भरमा बाँच्दै आइरहेकी छन् । श्रीमान् र छोराले मजदुरी गरे पनि काम नपाउँदा उनीहरूबाट कमाइ नहुने परेमपतिको भनाइ छ । हिउँदको चर्को घाम होस् या वर्षामासको झरी घाँस काट्ने काम भने निरन्तर हुने भएकाले मजदुरीजस्तो अभाव नहुने उनको भनाइ छ ।

‘मजदुरी त पाइए गर्ने हो नपाइए घरमै बस्ने हो तर घाँस काट्न त बाह्रैमास पाइन्छ । त्यसैले हाम्रो घरको चुल्हा यही घाँसबाट कमाइएको पैसाले नै बल्ने गरेको छ,’ उनले भनिन् । परेमपतिको कमाई पनि यो सिजनमा सयदेखि डेढ सयसम्म मात्रै हुने गर्छ । 

२७ घरधुरी भएको घसियार टोलको एउटा घरमा ३ जना देखि १४ जनासम्मको परिवार सदस्य रहेका छन् । घाँस काट्ने र बेच्ने जति सबै महिला नै हुन्छन् । साँझपख टोल नजिकै रहेको खाली ठाउँमा आ–आफूले काटेको घाँसको थुप्रो लगाएर महिला मात्रै घाँस बेच्ने गर्छन् । उनीहरूले बेच्ने घाँसको निश्चित मूल्य नै छैन । यसले जतिमा बेच्न सक्यो, त्यति नै त्यहाँ घाँसको मूल्य बनेको हुन्छ ।

घाँस बिक्रीका लागि स्थानीय सरकारले निश्चित मूल्य तोकिदिए आफूहरूको आर्थिक अवस्था थोरै भए पनि बलियो हुनमा सहयोग पुग्ने सोही टोलका २८ वर्षीय सुरेश घँसियार बताउँछन् । उनी भन्छन्, ‘दिनभरि घामपानी केही नभनी दुःख गरेर आमा–बहिनीले काटेको घाँस साँझ जम्मा ५ रुपैयाँमा बेच्नुपर्ने बाध्यता छ । स्थानीय सरकारले नै घाँसको मूल्य निर्धारण गरिदिए किन्ने र बेच्ने दुवैले पैसामा बार्गेनिङ नै गर्नुपर्दैनथ्यो नि !’

नेपालगञ्जको मुटुका रूपमा चिनिने त्रिभुवनचोक नजिकै रहेको घँसियार जातिको ३–४ पुस्ता घाँसकै भरमा बाँच्दै आएको नगरका पूर्व उपप्रमुख तथा टोलका स्थानीय शमशुद्धिन सिद्धीकी बताउँछिन् । उनका अनुसार पुस्तौं पुस्तादेखि घाँसकै भरमा बाँच्दै आएका घँसियारको आर्थिक अवस्था उनीहरूको पहिलो पुस्ताको जस्तो थियो आज तेस्रो/चौथो पुस्तासम्म आइपुग्दा पनि उस्तै छ ।

‘हामी नजन्मिँदैका कुरा हाम्रो बाजेबज्यैले सुनाउनुहुन्थ्यो, पहिला–पहिला ५–१० पैसामा घाँस बिक्री गर्थे रे ! आज जम्मा ५–१० रुपैयाँमा बिक्री गर्ने गर्छन् । के फरक भएको भन्ने त ?’

उनले घँसियारको जीवनलाई परिवर्तन गर्न नसकेको आफू दुःखी भएको बताउँदै उपमहानगरभित्र रहेको उक्त घँसियारन टोलका समुदाय वर्षाैंदेखि विपन्नतामा बाँचिरहेको बताइन् । ‘टोलमै हाइस्कूल पढेका मान्छे छैनन् । हातमा सीप छैन । व्यवसाय गर्न लगानी छैन । केही नभएपछि घाँस काटेर जीविका चलाइरहेका छन्,’ उनले भनिन्, ‘उनीहरूको जीवनस्तर उकास्ने खालका कार्यक्रम विभिन्न सम्बन्धित निकायले ल्याइदिने हो भने घसियारका छोराछोरीको भविष्य उज्ज्वल हुने थियो ।’

वडाध्यक्ष रसनिश बाजपाइले अझै पनि यो समुदाय चेतनाको हिसाबले पछाडि परेको बताए । ‘शौचालय मर्मतदेखि अन्य योजना बनाउने योजनामा छौं,’ उनले भने, ‘आगामी दिनमा प्याकेज कार्यक्रम ल्याएर उनीहरूका लागि काम गर्ने योजना बनाएका छौं । घाँसको मूल्य निर्धारण पनि चाँडै गर्नेछौं ।’
 

salt training

कमेन्ट गर्नुहोस्