
मौसमको खराबीले पोखरा, सुर्खेत र तुम्लिङटार विमानस्थलमा उडान तथा अवतरण ठप्प भएको छ । लगातारको वर्षाका कारण तीनवटै विमास्थलमा एउटा पनि उडान हुन नसकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
विमानस्थल कार्यालयका अनुसार आइतवार बिहानदेखि पोखरा विमानस्थल र सुर्खेत विमानस्थलबाट विमान उड्न सकेको छैन भने अन्य विमानस्थलहरूमा पनि ढिलो हुने र कम उडान भइरहेको छ ।
आइतवार बिहानदेखि मौसम खराब भएपछि तुम्लिङटार विमानस्थलमा हुने सबै उडान रद्द भएको बुद्ध एयरका सञ्चार संयोजक दीपेन्द्र कर्णले बताए । उनका अनुसार मौसमको खराबीले पोखरा र सुर्खेत विमानस्थलमा अहिलेसम्म उडान हुन सकेको छैन ।
यस्तै खराब मौसमका कारण अन्तर्राष्ट्रिय हवाई उडान पनि प्रभावित भएको छ । भिजिबिलिटी कम भएपछि केही उडान डाइभर्ट भएका छन् भने केही उडान रद्द भएको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले बताए ।
उनका अनुसार भारतको नयाँदिल्लीबाट आएको एयर इण्डियाको जहाज बनारस डाइभर्ट भएको छ भने चीनको तियान्फूबाट आएका एयर चाइना र सिचुआन एयरलाइन्सका जहाज तियान्फूमै फर्किएका छन् । साथै अन्य अन्तर्राष्ट्रिय उडानहरू पनि सामान्य प्रभावित भएको उनले जानकारी दिए ।