
अविरल वर्षासँगैको बाढीपहिरोले देशभरका पाँच राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका छन् । सोमवार बिहानसम्म मदन भण्डारी राजमार्ग र तमोर करीडोरसहित पाँच सडक पूर्णरूपमा अवरुद्ध भएको सडक विभागले जनाएको छ ।
विभागका अनुसार तमोर करिडोरको चतरा-मुलघाट-माझीटार-अमरापुरडाँडा-गणेशचोक सडक अवरुद्ध भएको छ । मदन भण्डारी राजमार्गको बाहुनडाँगी-शान्तिनगरदेखि रामपुर-राम्दी हुँदै सितलपाटी-सुर्खेतसम्म सडक अवरुद्ध भएको छ ।

यस्तै तानसेन-रिडी-कोरला सडक, डुम्रे-बेशीसहर-चामे सडक र बालाजु-त्रिशुली-धुन्चे -स्याफ्रुबेसी सडक पनि बाढीपहिरोले पूर्ण अवरुद्ध भएका छन् ।

बाढीपहिरोले देशभरका ४४ वटा सडक एकतर्फी अवरुद्ध भएको विभागले जनाएको छ । विभागका अनुसार पुष्पलाल (मध्य पहाडी ) राजमार्ग, बेलहिया-भैरहवा-बुटवल-वर्तुङ-राम्दी-स्याङ्जा-पोखरा (सिद्धार्थ राजमार्ग), काठमाण्डौं-धुलीखेल-दोलालघाट-खाडीचौर-कोदारी (अरनिको राजमार्ग) र बर्दिवास-सिन्धुली-खुर्कोट-धुलिखेल (बीपी राजमार्ग)लगायत ४४ वटा सडकमा एकतर्फी यातायात सञ्चालन भइरहेका छन् ।