
उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको एकनिष्ठ उद्देश्यमा अगाडि बढिरहेको बताएका छन् ।
गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको आव २०७९/८० को चौथो त्रैमासिक/वार्षिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति बैठकलाई सोमवार सम्बोधन गर्दै उनले उक्त कुरा बताएका हुन् ।
'गुणात्मक आर्थिक सामाजिक समृद्धिका लागि सुशासन पहिलो शर्त हो,' बैठकमा गृहमन्त्री श्रेष्ठले भने, 'त्यसैले भ्रष्टाचार, अराजकता, दण्डहीनता र ठगीजस्ता अपराध नियन्त्रण अहिलेको मूल प्राथमिकता हो।'
गृह मन्त्रालय र प्रहरी, अध्यागमन, विपद जोखिम, परिचयपत्र पञ्जीकरणलगायत मातहतका सबै निकायको कामलाई निरन्तर समीक्षासहित अझ व्यवस्थित तथा मर्यादित बनाइने र समग्र सुधार योजना बनाएर अगाडि बढिने मन्त्री श्रेष्ठले बताए ।
बैठकमा मन्त्रालय र अन्तर्गतका निकायका काम तथा योजनाहरू प्रस्तुत गरिएका थिए। त्यसबारे अन्तरक्रियात्मक समीक्षा समेत भएको थियो।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठ, प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय, अर्थ मन्त्रालय र योजना आयोगका प्रतिनिधिको समेत बैठकमा सहभागिता थियो।