०१ साउन २०८३, शुक्रबार
सरसर्ती २४ घण्टा

बाबुराम र माधव नेपालमाथि अनुसन्धान नहुने, सुन तस्करीमा जोडिएका चिनियाँसँग नेपाली नागरिकता

भदौ २, २०८०
काठमाडौं
बाबुराम र माधव नेपालमाथि अनुसन्धान नहुने, सुन तस्करीमा जोडिएका चिनियाँसँग नेपाली नागरिकता

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
नेकपा एमालेले केन्द्रीय सचिवालय  बैठकको निर्णयअनुसार पार्टीपंक्तिमा अन्तरपार्टी निर्देशन जारी गरेको छ।  
जसअनुसार एमालेले केही नेतालाई पार्टीबाट बिदा गर्ने तथा प्रदेश अधिवेशनदेखि विभागमा मनोनयन र जिम्मेवारी हेरफेरसहितका विभिन्न निर्णय भएको छ । यस्तै प्रदेश अधिवेशनका सम्बन्धमा पार्टी कमिटीलाई आवश्यक निर्देशन दिएको एमालेले पार्टी र जनसङ्गठनको उम्मेदवारी शुल्क, सामाजिक सञ्जालको प्रयोग, सार्वजनिक कार्यक्रममा फोटोको प्रयोगका सम्बन्धमा पनि आवश्यक निर्णय गरेको छ । 
एमालेले चार जना नेतालाई कामबाट बिदा दिने निर्णय गरेको छ । अजय क्रान्ति शाक्य (काठमाडौँ), जुनेली श्रेष्ठ (मकवानपुर), पार्वती रावल (चितवन) र पुरनसिंह दयाल (बैतडी) लाई हाललाई कामबाट  बिदा दिने निर्णय गरेको हो । स्वास्थ्यलगायतका कारण देखाउँदै हाललाई पार्टीको कामबाट बिदा दिइएको एमालेको भनाइ छ । 
एमालेले जारी गरेको अन्तरपार्टी निर्देशनमा लामो समयदेखि पार्टीको काममा संलग्न नभएका अन्य केही नेताहरूको हकमा अवस्था र कारण बुझेर अर्को बैठकबाट आवश्यक निर्णय लिने पनि उल्लेख छ । 
यस्तै केशव स्थापित र प्रमोद नारायण यादवलाई केन्द्रको जिम्मेवारीबाट अलग हुने चाहना राखेअनुसार केन्द्रीय कमिटी सदस्यबाट बिदा गरिएको एमालेले जनाएको छ ।
००००
माओवादी केन्द्रीय कमिटीमा दुई जना केन्द्रीय सदस्य थप गरिएका छन् ।
माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय कमिटी सदस्य बनाइएको हो ।
००००
नेपालमा विभिन्न क्षेत्रका मिटरब्याजीले दिएको रकममा शतप्रतिशतभन्दा बढी रकम लिने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको छ ।

पीडितहरूले दिएको उजुरी छानबिनका क्रममा अहिलेसम्मको उजुरी फछ्र्योटमा उनीहरूले दिएकोभन्दा दोब्बर पैसा असुल्ने गरी मिटरब्याजमा पैसा लगाएको पाइएको गृहमन्त्रालयका प्रवक्ता, सहसचिव नारायणप्रसाद भट्टराईले जानकारी दिए । 

मन्त्रालयमा प्राप्त रिपोर्टमा अहिलेसम्म तीन हजार एक सय ६१ पीडितसँग गरिएको मिलापत्रमा उक्त तथ्य पुष्टि भएको छ । मिटरब्याजसम्बन्धी कानून बनेसँगै छानबिन, अनुसन्धान र मिलापत्रको काम तीव्र पारिएको छ ।
००००
शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा एमबीबीएस अध्ययनरत एक जना विद्यार्थी पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले उनलाई चितवनबाट बिहीबार राति पक्राउ गरेको हो ।
००००
बिहीबार राजपत्रमा सूचना प्रकाशित गर्दै सरकारले २०८० साउन १ गतेदेखि लागु हुनेगरी तोकेको श्रमिकको न्यूनतम पारिश्रमिकसम्बन्धी व्यवस्था कार्यान्वयन गर्न नसकिने नेपाल उद्योग परिसङ्घले जनाएको छ ।
परिसङ्घले एक विज्ञप्ति जारी गर्दै नयाँ पारिश्रमिक लागू गर्न नसकिने जनाएको हो ।
००००
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफूले कसैसँग उन्मुक्तिको याचना नगरेको बताएका छन् । उनले हाल केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गरिरहेको छानबिनको क्रममा पनि आफूसँग कसैले कुनै सोधपुछ नगरेको भट्टराईको भनाइ छ । सीआईबीले सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने अन्तिम तयारी गरेको छ । 
००००
यसैबीच ललितानिवास प्रकरणमा पूर्व प्रधानमन्त्रीद्वय माधव नेपाल र डा भट्टराईमाथि कीर्ते सम्बन्धमा छानबिन वा बयान केही पनि नहुने भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारमा मुद्दा नचलाएको र कीर्ते गरेको पुष्टि हुने ठोस आधार नभेटिएकाले बयान वा कागज गराउन समेत आवश्यक नभएको निष्कर्षमा सीआईबी पुगेको उच्च स्रोतले जानकारी दियो ।
००००
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमवार विश्वासको मत लिने भएका छन् ।
मुख्यमन्त्री थापाले यही भदौ ३ गते आइतवार विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएका थिए । 
तर उपसभामुख सिर्जना दनुवारले ४ गते सोमवार १ बजेको बैठकमा पेश गर्न तोक लगाएकी छिन् ।
००००
रेमिट्यान्स आगमनमा नयाँ कीर्तिमान कायम भएको छ । नेपालमा अहिलेसम्मकै धेरै रेमिट्यान्स गत आर्थिक वर्ष २०७९–८० मा भित्रिएको छ । गत आवमा मात्रै १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँले रेमिट्यान्स भित्रिएको छ ।
००००
६० केजी सुन प्रकरणमा पक्राउ परेका चिनियाँ नागरिकहरूसँग नेपाली नागरिकता भेटिएको छ ।

सीआईबीका अधिकारीहरूका अनुसार पक्राउ परेका सातजना चिनियाँसँग सिन्धुपाल्चोकबाट जारी भएको नागरिकता भेटिएको हो । बेल्जियन नागरिक दावा छिरिङसँग पनि नेपाली नागरिकता भेटिएको सीआईबीले जनाएको छ ।
००००
नेपाली कांग्रेसका नेता तथा सांसद डा। चन्द्र भण्डारी उपचारपछि कीर्तिपुरस्थित बर्न सेन्टरबाट ‘डिस्चार्ज’ भएका छन् । उपचारमा संलग्न चिकित्सक डा किरण नकर्मीले शल्यक्रियाबाट स्वास्थ्यमा सुधार देखिएपछि उनलाई डिस्चार्ज गरिएको जानकारी दिए।


 

salt training

कमेन्ट गर्नुहोस्