३० जेठ २०८३, शनिबार
सरसर्ती २४ घण्टा

कोशी प्रदेशमा विश्वासको मत फेल गराउने विपक्षीको रणनीति, केन्द्रीय राजनीतिमा उस्तै लफडा

भदौ ४, २०८०
काठमाडौं
कोशी प्रदेशमा विश्वासको मत फेल गराउने विपक्षीको रणनीति, केन्द्रीय राजनीतिमा उस्तै लफडा

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले सोमबार विश्वासको मत लिँदै छन् । साउन १६ गते दोस्रो पटक मुख्यमन्त्री नियुक्त भएका थापाले  प्रदेश सभाबाट विश्वासको मत लिने भएका हुन् । 

विश्वासको मत लिन थापाले शुक्रवार प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराएका थिए । यससँगै विपक्षी दल विश्वासको मत फेला गराउन लागिपरेका छन् । 

गठबन्धनसँग बहुमत पुग्ने ४७ सांसद संख्या छ । तर, सभा सञ्चालन गर्न उपसभामुख सिर्जना दनुवार अनुपस्थित भए के गर्ने भन्नेमा गठबन्धनमा अन्योल देखिएको छ । उनी अनुपस्थित हुने सम्भावना रहेको बताइएको छ । 

कोशीमा गठबन्धनका कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी जसपाका ४७ प्रदेशसभा सदस्यको समर्थनमा थापा मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।

कोशी प्रदेशसभामा नेकपा एमालेका ४० र राष्ट्रिय प्रजातन्त्र पार्टीका ६ सांसद छन् । सदनमा एमाले र राप्रपा साथै छन् ।
आज बस्ने कोशी प्रदेशसभा बैठकमा नेकपा एमालेका ७ जना जेष्ठ सदस्यहरू अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने बैठकमा उनीहरू अनुपस्थित भएका हुन् ।

एमालेका सांसदहरू रोहितबहादुर कार्की, मालतीकुमारी लिम्बू, रामप्रसाद महतो, तारादेवी ढकाल, किशोरचन्द्र दुलाल, ज्ञानेन्द्र सुवेदी अनुपस्थित हुने भएका हुन् ।

प्रदेशसभामा सभामुख र उपसभामुख नभएको अवस्थामा जेष्ठ सदस्यले बैठक सञ्चालन  गर्ने व्यवस्था छ ।
प्रदेशसभामा सबैभन्दा जेष्ठ सदस्य नेपाली कांग्रेसका गयानन्द मण्डललाई यसअघि मुख्यमन्त्री थापाले राज्यमन्त्री बनाइसकेका छन् । मण्डल पछिका सत्ता गठबन्धनका जेष्ठ सदस्य उद्धव थापा मुख्यमन्त्री छन् ।

राप्रपाका प्रदेशसभा सदस्यहरू आजको प्रदेशसभा बैठकमा अनुपस्थित हुने भएका छन् । मुख्यमन्त्री थापाले विश्वासको मत लिने दिन उनीहरू अनुपस्थित हुने भएका हुन् । 
कोशी प्रदेशमा राप्रपाका ६ जना सांसद छन् । उनीहरूलाई बैठकमा अनुपस्थित हुन पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले निर्देशन दिएका छन् ।
पाटीको निर्देशन आएकै कारण आजको बैठकमा सहभागी नहुने राप्रपाका प्रदेशसभा सदस्य अम्बरबहादुर विष्टले बताए ।
००००
संसद् गतिरोध अन्त्यको पहलस्वरुप राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठक आह्वान गरेका छन् । 
भदौ ५ गते मंगलवार बिहानका लागि बैठक आह्वान गरिएको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले लोकान्तरलाई जानकारी दिए । बैठकमा प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ । 

यसैबीच प्रधानमन्त्री प्रचण्डले आज पनि राष्ट्रिय दलहरुसँग छलफल गर्ने भएका छन् । आइतबार समेत प्रचण्डले छलफल गरेकामा एमाले अध्यक्ष केपी शर्मा ओली उपस्थित नभएपछि बैठक निष्कर्षविहीन बनेको थियो । 

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै आएपनि सरकारले त्यसलाई अस्वीकार गर्दै आएको छ ।
००००
संसदमा जारी गतिरोध हटाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठकमा सहमति जुट्न नसकेपछि प्रतिनिधिसभा बैठक भदौ ५ गते मंगलवारसम्मको लागि स्थगित भएको छ ।
सरकारको आग्रहमा बैठक मंगलवारसम्मको लागि बैठक स्थगित गरिएको संसद सचिवालले जनाएको छ । 
००००
नेकपा माओवादी केन्द्रका उपमहासपचिव वर्षमान पुनले प्रमुख प्रतिपक्षी एमाले सत्ता बाहिर बस्नु परेका कारण छटपटाएको टिप्पणी गरेका छन् ।
पार्टीको युवा विशेष महाशाखाको बैठकलाई आइतवार मुख्यालय कोटेश्वर पेरिसडाँडामा सम्बोधन गर्दै पुनले लगातार तीन वर्ष सत्ता बाहिर बस्नुपर्दा एमाले छटपटिएको बताए ।
००००
नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले संसद गतिरोध लम्बिनुमा सरकार र प्रतिपक्ष दुवै दोषी रहेको बताएका छन्  । उनले संसद् तत्काल सुचारु गराउनका लागि संयोजनकारी भूमिका निर्वाह गर्न सरकारसँग आग्रह गरे । 

प्रतिनिधिसभा बैठक अवरुद्ध भएपछि आइतवार संसद् भवन परिसरमा पत्रकारहरूसँग कुरा गर्दै कोइरालाले प्रतिपक्षलाइ आरोप लगाएर मात्र सरकार उम्किन नमिल्ने बताएका हुन् ।

यसैगरी उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विमानस्थल भन्सार बाहिरबाट समातिएको झन्डै ६१ किलो सुन सम्बन्धमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले नै निष्कर्षमा र्पुयाउने बताएका छन् ।

००००
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको सोमबार संसदीय सुनुवाइ गर्ने भएको छ । 
समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।
००००
बलात्कारको आरोपमा मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित बाल सुधार गृहको थुनामा रहेका एक युवकको रहस्यमय ढङ्गले मृत्यु भएपछि गृहमा तोडफोड भएको छ ।
रामेछापको मन्थली नगरपालिका–३, कठजोरका २१ वर्षीय कमल बस्नेतको आज बिहान रहस्यमय ढङ्गले मृत्यु भएको भन्दै निजका आफन्तले बाल सुधार गृह अगाडि नाराबाजी गरी तोडफोड गरेपछि दिनभर तनाव ग्रस्त भएको हो ।
००००
चोरिएका दुई बच्चासहित बारा जिल्लाको देवताल गाउँपालिका ३ अमुवाबाट एक व्यक्तिलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । 
बच्चाहरूलाई बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा बीओपी दक्षिणझिट्कैयाले भारतको पूर्वीचम्पारण मुर्तिया ग्रामपन्चायत ४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलमलाई नियन्त्रणमा लिएको हो ।
००००
नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र गण्डकी प्रदेश समितिले पार्टीले सञ्चालन गर्ने ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ का लागि नेताहरुको जिम्मेवारी तोकेको छ । पोखरामा यही भदौ २ गते बसेको प्रदेश समितिको सातौँ पूर्ण बैठकले अभियानको कार्ययोजना तथा जिम्मेवारी निश्चित गरेको हो ।
००००
वाणिज्य बैंकहरूले ब्याजदर बढाउँदाको असर नेप्सेमा देखिएको छ । बैंकहरूले भदौ १ (शुक्रवार)देखि ब्याजदर बढाएका छन् ।
बैंकहरूले बढाएको ब्याजदरको प्रभाव स्वरूप आइतवारको शेयर बजार राताम्मे हुन पुगेको छ । आइतवार नेप्से सूचक २१.९९ अंकले घटेको छ । एकैदिन १.०८ प्रतिशतले घटेर नेप्से सूचक २०११.१४ विन्दुमा झरेको छ । 
००००
स्पेनले पहिलोपटक महिला विश्वकप फुटबलको उपाधि जितेको छ । अष्ट्रेलियामा आइतबार सम्पन्न फाइनलमा इंग्ल्यान्डलाई १–० गोल अन्तरले हराउँदै स्पेनले विश्वकपको पहिलो उपाधि जितेको हो ।


 

salt training

कमेन्ट गर्नुहोस्