२४ असार २०८३, बुधबार

आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि ‘डायलायसिस’ सेवा शुरू हुने

भदौ १०, २०८०
तनहुँ
आँबुखैरेनी अस्पतालमा यही वर्षदेखि ‘डायलायसिस’ सेवा शुरू हुने

तनहुँको आँबुखैरेनी गाउँपालिकाले यही वर्षदेखि मिर्गौला बिरामीका लागि ‘डायलायसिस’ सेवा सुरु गर्ने भएको छ । यसका लागि गाउँपालिकामा तीन थान डायलायसिस उपकरण आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत् गाउँपालिकालाई तीन उपकरण प्राप्त भएको हो । 

करिब रु ४३ लाख ९२ हजार बराबरको डायलायसिस उपकरण आइपुगेको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए । गाउँपालिकाले नीति तथा कार्यक्रममै समावेश गरी चालु आर्थिक वर्षबाटै आँबुखैरेनी अस्पतालबाट डायलायसिस सेवा उपलब्ध गराउने घोषणा गरेको थियो । 

सबैको सहयोग र पहलबाट गाउँपालिकालाई डायलायसिस उपकरण प्राप्त भएको गाउँपालिकाका अध्यक्ष चुमानले जानकारी दिए । 

मिर्गौला पीडितका लागि डायलायसिसका लागि अन्यत्रै जानुपर्दा दुःख भएपछि गाउँपालिकाले आँबुखैरेनी अस्पतालमा डायलायसिस केन्द्र स्थापनाको प्रक्रिया थालनी गरेको थियो । गाउँपालिकाको चालु आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा डायलायसिस सेन्टर स्थापना गर्ने उल्लेख गरेको छ । गाउँपालिकाभित्र करिब २५ मिर्गौला पीडित रहेकाले उनीहरुलाई सहज रुपमा सेवा दिन अस्पतालमा डायलायसिस केन्द्र स्थापना गरिने अध्यक्ष चुमानको भनाइ छ । 

हाल तनहुँमा दमौली अस्पतालमा मात्रै डायलायसिस सेन्टर सञ्चालनमा छ । मिर्गौला पीडितको सङ्ख्या बढेसँगै यहाँ सेवा लिनका लागि पालो पर्खनुपर्ने अवस्था छ । दमौली अस्पतालमा ११ उपकरण रहेकामा बिग्रिएर हाल चार वटाले मात्रै सेवा दिइरहेको छ । 

गाउँपालिकाले जनतासँग स्वास्थ्य कार्यक्रममार्फ्त ज्येष्ठ नागरिकलाई महिनाको एकपटक घरमै पुगेर सेवा प्रदान गर्ने नीति लिएको छ । उनले प्रजनन् स्वास्थ्य, पाठेघर ‘क्यान्सर’ परीक्षण कार्यक्रमलाई जोड दिइएको बताए । गाउँपालिकाभित्रका सर्वसाधारणलाई क्यान्सर रोग लागेमा रु ५० हजार आर्थिक सहायता दिने कार्यक्रमलाई आगामी वर्षमा निरन्तरता दिइएको उनले उल्लेख गरे ।

salt training

कमेन्ट गर्नुहोस्