
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
सबै पक्षको संयमताले धरान शनिबार दिनभरी नै शान्त रह्यो । हिन्दू अभियन्ताले शनिवार धार्मिक र्याली आह्वान गरेपछि त्यसको प्रतिकार गर्ने भन्दै प्रचार गरिएपछि धरानका राजनीतिक दल नागरिक समाज र जनप्रतिनिधिले चासो दिएका थिए ।
नागरिक अगुवा, राजनीतिक दल, जनप्रतिनिधिहरूले शान्ति सद्भावलाई लिएर चिन्ता जनाएका थिए ।
बाहिर चर्चा भए जसरी धरानमा धार्मिक सद्भाव खलबलाउने गरी कतै पनि गतिविधि र चर्चा नभएको स्थानीले बताए । सामाजिक सञ्जालमा प्रचार भए जस्तो अवस्था नभएको धरान उपमहानगरपालिकाका पूर्वमेयर तिलक राईले स्पष्ट पारे । यहाँ कुनै पनि समुदायले असुरक्षित महसुस गरेका छैनन् । ‘धरानमा भर्खर–भर्खर आएर बसेकाहरूले अलिक बढी चर्चामा आउनका लागि त्यस्तो गरेको देखिन्छ । सामाजिक सञ्जालमा चर्चा भएजस्तो धरानको अवस्था पनि छैन,’ उनले भने ।
यस विषयमा धरान उपमहानगरपालिका गम्भीर नभएको उनले आरोप लगाए । हल्ला हुनासाथ धर्मगुरू र समाजका अगुवाहरूलाई राखेर छलफल गरेको भए सबै कुरा समाधान यसअघि नै भइसक्ने उनको भनाइ थियो ।
धरानका समस्यालाई लिएर मेयर हर्क साम्पाङले कुनै सरसल्लाह नगर्ने गरेको उनको आरोप छ । धरानलाई धार्मिक पर्यटनको नगरी मान्निछ । यहाँ पिण्डेश्वर, बूढासुब्वा, दन्तकाली लगायतका हिन्दू तथा किरात धर्मलम्बीहरूका मठ–मन्दिर छन् । अनावश्यक हल्लाले धरानको धार्मिक पर्यटनमा असर पर्ने पूर्वमेयर राईले चिन्ता व्यक्त गरे ।
००००
हिन्दु धर्म मान्ने विभिन्न संगठनहरूले सुनसरीको इटहरीमा धार्मिक र्याली निकालेका छन् । धरान जान नपाएपछि उनीहरूले इटहरीमा र्याली निकालेका हुन् । यस्तै धरानमा चोकचोकमा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
धरानमा सबै पक्षको प्रयासले अहिले जनजीवन सामान्य बन्दै गएको छ ।
००००
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डले एकता र सद्भावको पक्षमा उभिन अपिल गरेका छन् । ‘सामाजिक एकतामा खलल पुग्ने कार्यहरूबाट टाढा रही एकता र सद्भावको पक्षमा उभिन र समस्या समाधानका निम्ति आ–आफ्नो ठाउँबाट सम्भव पहल लिनुहुन धरानबासी जनसमुदाय लगायत सम्पूर्ण नेपालीमा हार्दिक अपील गर्दछु’, प्रधानमन्त्रीले शनिबार बताएका छन् ।
००००
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले धार्मिक सद्भाव नेपालीको पहिचान भएको बताएका छन् ।
नेपाल प्रेस युनियन मोरङको विराटनगरमा आयोजित पदस्थापन समारोहमा उनले नेपाल बहुजातीय, बहुधार्मिक र बहुभाषिक मुलुक भएकाले सामाजिक एवं धार्मिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरे ।
००००
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सबै प्रकारको विभेद र असमानताको अन्त्य गरिनुपर्ने बताएका छन् । गृहनगर दमकमा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले सामाजिक न्याय प्राप्तिका लागि जात र धर्मका नाममा विभेद गर्न नमिल्ने बताए।
००००
प्रतिनिधिसभाअन्तर्गत गठित १० वटा विषयगत समितिको सभापति निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।
जसअनुसार आज आइतबार सभापतिको उम्मेदवारी प्रस्ताव दर्ता गर्ने कार्यतालिका छ । यस्तै दर्ता भएका प्रस्तावको सूची प्रकाशित गर्ने कार्यतालिका पनि आजैका लागि तोकिएको छ । सभापतिका लागि दर्ता प्रस्तावहरू सोमबार सम्बन्धित समितिमा निर्णयार्थ प्रस्तुत गरिनेछन् ।
००००
नेपाल प्रहरीले सुन तस्करी प्रकरणमा विदेशी नागरिकहरूको समेत संलग्नता देखिएकाले इन्टरपोलको सहयोग मागेको छ ।
सुन तस्करी प्रकरणको अनुसन्धान गरिरहेको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले अन्तर्राष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल)लाई सहयोगका लागि पत्राचार गरेको छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले इन्टरपोल हङ्कङ र भारतलाई सहयोगका लागि पत्राचार गरिएको जानकारी दिए ।
००००
जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्रप्रसाद श्रेष्ठलाई दिइएको छ ।
पार्टी अध्यक्ष उपेन्द्र यादव भारतको केरेलामा हुने एक वैवाहिक कार्यक्रममा सहभागी हुन आज भारत प्रस्थान गरेपछि पार्टीका कार्यकारिणी समिति सदस्य श्रेष्ठलाई पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको सो पार्टीका प्रचार–प्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
००००
दिवंगत अभिनेता सारुक ताम्राकारका पिता कलाकार सानु ताम्राकारको निधन भएको छ ।
७४ वर्षीय उनको केही सातायता नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । उनको शनिवार दिउँसो ३ः२० बजे निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले जानकारी दिए ।
००००
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले स्थापना दिवसका अवसरमा पार्टीको झण्डोत्तोलन गरेको छ ।
बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा लोसपाका अध्यक्ष महन्थ ठाकुरले पार्टीको झण्डोत्तोलन गरे । लोसपा स्थापनाको दुई वर्षका अवसरमा झण्डोत्तोलनसहित नेता एवं कार्यकर्ताबीच शुभकामना आदानप्रदान गरिएको लोसपाका नेता केशव झाले जानकारी दिए ।
००००
नेकपा एमालेको सिरहामा तय गरिएको सचिवालय बैठक यही भदौ १३ गतेलाई सरेको छ ।
धनगढीमाई नगरपालिका सर्रे अम्बासमा बस्ने भनेको बैठक निरन्तरको वर्षाका कारण सार्नुपरेको नेकपा एमालेका जिल्ला अध्यक्ष चण्डेश्वर मण्डलले जानकारी दिए ।
००००
चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो ।
नेपालले ब्याटिङ गरिरहँदा वर्षा भएपछि खेलको छिनोफानो डकवर्थ लुइस पद्दतीका आधारमा गरिएको हो ।
००००
बागमती नदी संरक्षण अभियानलाई प्रभावकारी बनाउनका लागि बागमती नदीमा ‘नदी महोत्सव तथा महाजलयात्रा’सम्पन्न भएको छ ।
नेपाल एशोसिएसन अर्फ याफ्टिङ एजेन्सिज (नारा), नेपाल नदी संरक्षण संस्था र फ्रेन्डस क्लब कुपण्डोलको आयोजनामा आज बिहान ७ बजे कुपण्डोलस्थित बागमती पुलछेउबाट सुन्दरीघाटसम्म जलयात्रा गरिएको हो ।