
ललितपुर महानगरपालिकाले समानान्तर पार्किङ विस्तार गरेको छ । यसअघि जावलाखेलस्थित खरिबोटबाट भनिमण्डलतर्फको सडकमा समानान्तर पार्किङ शुरू गरेको महानगरले आज (आइतवार)देखि कुमारीपाटीमा पनि सोही नियम लागू गरेको हो ।
सडक छेउमा जथाभाबी पार्किङ गर्दा ट्राफिक व्यस्थापनमा समस्या भएकोले कुमारीपाटीमा समानान्तर पार्किङ शुरू गरिएको नगर प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए । उनका अनुसार समानान्तर पार्किङ गर्दा थोरै स्थान ओगट्ने र ट्राफिक व्यवस्थापन गर्न सहज भएको छ ।

अब यस सडकको एक साइटमा सवारी समानान्तर किसिमले पार्किङ गर्नुपर्नेछ। 'कुमारीपाटी स्कुलहरूको हबजस्तै छ। त्यहाँ धेरै विद्यार्थीहरू आउजाउ गर्नुहुन्छ,' उहाँले भन्नुभयो, 'जथाभाबी पार्किङले उनीहरूलाई हिँडडुलमा समेत समस्या भएको थियो । अब समानान्तर पार्किङ नियम लागू गरेपछि सहज हुने छ । समानान्तर पार्किङले सडक चौडातर्फको थोरै ठाउँ मात्रै ओगट्छ।'

उनले समानान्तर पार्किङलाई आवश्यकताका आधारमा थप विस्तार गर्ने योजना रहेको सुनाए । पहिलो चरणमा खरिबोट–भनिमण्डलबाट शुरू गरिएको यो नियम आजदेखि कुमारीपाटीमा लागू भएको भन्दै क्रमशः अन्य ठाउँमा पनि लागू गरिने उनले बताए। 'अन्य पालिकाहरूमा पार्किङ हटाएर वैकल्पिक व्यवस्था नगर्दा समस्या उत्पन्न भइरहेको छ । स्थानीय व्यापारीहरूले ठूलो नोक्सान व्यहोर्नु परेको छ,' उनले भने, 'तर हामीले व्यवस्थित गर्दै लैजाने योजना बनाएका छौं । मेयर सा'बले पनि त्यहीअुसार निर्देशन दिनुभएको छ । अन्य ठाउँमा पनि आवश्यकता अनुसार समानान्तर पार्किङ विस्तार गर्ने योजना छ । केही ठाउँमा अहिले भइराखेको पार्किङ हटाउँछौं भने केही ठाउँमा समानान्तर पार्किङ नियम विस्तार गर्छौं ।'
सबैसँग समन्वय गरेर पार्किङ व्यवस्थापनको काम भइरहेको उनले बताए । सबैलाई सजिलो हुनेगरी पार्किङ व्यवस्थापन गर्न महानगर प्रमुख चिरीबाबू महर्जनले निर्देशन दिएको उनको भनाइ छ ।