२९ असार २०८३, सोमबार

पहिरोले खोटाङमा एक घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे

भदौ ११, २०८०
खोटाङ
पहिरोले खोटाङमा एक घर भत्कियो, दर्जनौँ पशुचौपाया मरे
फाइल तस्वीर

अविरल वर्षाका कारण झरेको पहिरोले खोटाङमा एउटा घर पूर्णरूपमा क्षति भएको छ भने दर्जनौँ पशुचौपाया मरेका छन् । केही दिनदेखि लगातार परिरहेको वर्षाका कारण घरमाथिबाट झरेको पहिरोले दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँ बोफ्लुका बुद्धिमान तामाङको घर पूर्णरूपमा क्षति भएको हो । 

पहिरोले तामाङको घर पुरिँदा तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरीक्षक मञ्जिल मुकारुङले जानकारी दिए । आइतवार झरेको पहिरोले तामाङको घरमा पूर्णरूपमा क्षति भए पनि मानवीय क्षति भने हुन नपाएको प्रहरीले जनाएको छ ।

कान्ले पहिरोले ऐसेलुखर्क गाउँपाaलिका–७ माक्पाका तेजबहादुर कामीको घरमा क्षति पुगेको छ । घरभन्दा तलबाट गएको पहिरोले कामीको घर अगाडिपट्टिको बरण्डा भत्किएको वडाध्यक्ष अरुण राईले जानकारी दिए ।

वर्षाका कारण झरेको पहिरोले गोठ भत्किँदा कामीको दुई वटा भैँसी, दुई वटा पाडा, एउटा गोरु र सात वटा खसी बाख्रा मरेका छन् । पहिराबाट कामीको गोठमा भएको क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 

वर्षाका कारण गोठ ढल्दा दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सछितापोखरीका तीर्थबहादुर विश्वकर्माको एउटा गोरु मरेका छन् । ढलेको गोठले पुरिएर एउट गोरु र बाछो घाइते भएको वडाध्यक्ष डम्बरबादुर खड्काले बताए । गोठ भत्किँदा खोटेहाङ गाउँपालिका–८ सिम्पानीका राजेन्द्र प्रधानको एउटा भैँसी, एउटा पाडा र दुई वटा बोका मरेका छन् । प्रधानको रु तीन लाख आठ हजारको क्षति भएको प्रहरीले अनुमान गरेको छ । 

साकेला गाउँपालिका–३ खिदिमाका कुनुराम राईको एउटा लैनो भैँसी र एउटा पाडा पुरिएर मरेको जनाइएको छ । पहिरोबाट राईको अन्दाजी तीन लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।

वर्षाकै कारण हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमस्थित राबुका देबेन्द्र राईको मतान भत्किँदा पाँच वटा खसी बाख्रा मरेको छ । सोही नगरपालिकाको वडा नं ७ महादेवस्थानका  कृष्ण कार्कीको बन्दै गरेको पक्की घर तथा डम्बर कार्की, कमानसिं रार्ई, बलबहादुर राई, केशव परियार र दीपक परियारको घरमुनीबाट पहिरो गएको र रमेश बस्नेतको घरमाथिबाट आएको पहिरोले छवटा घर उच्च जोखिममा परेको छ ।

जिल्लामा पहिरोका कारण भएका क्षतिको विवरण आउनेक्रम जारी रहेकाले कति क्षति भयो भन्ने यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । पहिरोले जिल्लाका सबै ग्रामीण सडक अवरुद्ध भएका छन् भने राष्ट्रिय राजमार्गका विभिन्न ठाउँमा पहिरो जानुका साथै भाएिर ठूलो क्षति भएको पाइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्