
नेकपा एमालेका सचिव पदमा अर्यालले पार्टीभित्र कुनै गुटबन्दी नभएको दाबी गरेकी छिन । प्रदेश अधिवेशनको सन्दर्भमा सोमवार बुटवलमा आयोजित पत्रकार सम्मलनमा बोल्दै उनले पार्टीमा कुनै गुट नभएको बताइन् ।
‘म पार्टीले खटाएको प्रदेशको इन्चार्ज हुँ, मलाई केही जानकारी छैन, उपाध्यक्ष र महासचिवले गुट बनाएको काल्पनिक चर्चा गराइँदैछ,' उनले भनिन्, 'श्रद्धेय अध्यक्ष केपी ओली, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल कसैले पार्टी हितविपरीत गुट बनाउने कुरा असम्भव हो, अहिले दुई जना उम्मेदवार हुँदा २ जनाको गुट लेख्दा भोलि अधिवेशनमा त्योभन्दा धेरै उम्मेदवार भए भने कुन कुन नेताको नाम जोडेर र कुन गुट भनेर लेख्ने नि ?’
सर्वसम्मत नेतृत्व चयन नभए स्वच्छ प्रतिस्पर्धाबाट नेतृत्व छान्ने लोकतान्त्रिक विधि हुँदाहुँदै अनेक फुर्का जोडेर प्रचारबाजी गर्नु जरुरी नरहेको उनले बताइन् । ‘तल्लो तहमा कोही कसैका इच्छा, आकांक्षा र स्वार्थ होलान्, त्यसमा केन्द्रीय नेतृत्वलाई जोड्ने काम गलत छ, त्यो हुनै सक्दैन’ उनले भनिन् ।
समावेशी प्रतिनिधित्व, आयोजक पनि चुनिएर मात्रै प्रतिनिधि
लुम्बिनी प्रदेशका १०९ वटै स्थानीय तहबाट १ हजार ४ जना प्रतिनिधि छनोट भएका छन् । तीमध्ये महिलाको मात्रै संख्या तीन सय छ । यस्तै दलितबाट १ सय ५३ जना प्रतिनिधिका रूपमा चुनिएर आएका छन् । ४० वर्ष मुनिका युवामात्रै अहिले एक सय ३७ जना प्रतिनिधिमा चुनिएका छन् । पार्टीले गरेको निर्देशनअनुसार महिला ३० प्रतिशत, उत्पीडित जनजातिबाट १५ प्रतिशत र युवाबाट २० प्रतिशत प्रतिनिधि छनोट भएका छन् ।
आयोजक कमिटी यसअघि स्वतः प्रतिनिधिका रूपमा लिइन्थ्यो । तर, यसपाली आयोजक कमिटी पनि प्रतिनिधिका रूपमा चुनिएर मात्रै अधिवेशनमा सहभागी हुन पाउने प्रावधान बनाइएको छ ।
सोही आधारमा अहिलेका प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल पाल्पाको रामपुर नगरपालिकाबाट, केन्द्रीय सदस्यसमेत रहेका प्युठानका हरि रिजाल नौ बहिनी गाउँपालिकाबाट र प्रदेश सचिव रहेका लक्ष्मण आचार्य दाङको घोराही उपमहानगरबाट प्रतिनिधि छनोट भएका छन् ।
जम्बो कमिटी घटाएर चुस्त बनाइँदै
एमालेले हालको करिब छ सय जना रहेको प्रदेश कमिटीलाई संक्रमणकालिन भन्दै यो संख्यालाई घटाएर चुस्त बनाउने भएको छ । अब आउने अधिवेशनले २ सय ५ जनाको प्रदेश कमिटी चयन गर्ने छ ।
यसअघिको कमिटीमा केन्द्रबाटै बनेको कमिटीमा ६ सय १ जना छन् । एमालेले प्रदेशका १२ जिल्लाबाट प्रतिजिल्ला ५ जनाका दरले ६० जना, संघीय निर्वाचन क्षेत्रबाट प्रति क्षेत्र ५ जनाका दरले १ सय ३० जना र खुल्लाबाट ५ पदाधिकारी सहित १५ जना रहने गरी २ सय ५ जनाको नेतृत्व चयन गर्ने छ ।