
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले सिम्रिक एयरका अध्यक्ष रामेश्वर थापालाई १० हजार रुपैयाँ जरिवाना गरेको छ ।
सिम्रिक एयर प्रालिका अध्यक्ष थापाले प्राधिकरणले नेपालको हवाई आकाशलाई सुरक्षित बनाउन गरेका आदेश तथा निर्देशनको कार्यान्वयनमा पटकपटक अवरोध सिर्जना गरी कानूनविपरीतको कार्य गरेको भन्दै जरिवाना गरेको हो ।
प्राधिकरणले गर्दै आएको काम र गर्न लागेको काममा बाधा पुर्याएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ को दफा २५ को उपदफा (२) बमोजिम १० हजार रुपैयाँ जरिवाना गरेको जनाएको छ ।
थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यादेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा नीतिविरुद्धमा अभिव्यक्ति दिएर सर्वसाधारणमा सन्देह उत्पन्न गराएको प्राधिकरणले जनाएको छ । यस क्रममा थापाले अडिटलाई प्रभाव पार्ने र प्राधिकरणको कानूनी प्राधिकार कार्यान्वयनमा समेत अवरोध गरेको क्यानले जनाएको छ ।
थापाले वायु सेवा सञ्चालक संघ नेपालको लेटरप्याड दुरुपयोग गरेर बन्द हड्तालमा निषेध गरेको हवाई सेवा बन्द गर्ने धम्की दिइ सबै वायुसेवा कम्पनीलाई प्राधिकरणका विरुद्धमा उतारी निर्णय कार्यान्वयमा अवरोध गरेको पनि क्यानले जनाएको छ ।
आइसिएओले नेपालको उडान सुरक्षा निगरानीको क्षमता सम्परीक्षण गर्ने उद्देश्यले उस्को विश्वव्यापी सेफ्टी अडिट (युएसओएपी) कार्यक्रमऋनतर्गत सारा नेपाली उड्डयन क्षेत्र अडिटको काममा व्यस्त भएको अवधिमा थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा गई भ्रम सिर्जना गरेको पनि क्यानले जनाएको छ । प्राधिकरणले गरिरहेको काम कारबाहीमा सन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने नकरात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा थापाले अवरोध गरेको क्यानको भनाइ छ ।
विभिन्न विमानस्थलमा प्राधिकरणमा तिर्न–बुझाउन बाँकी रहेको बक्यौता रकम नतिर्ने वायुसेवा कम्पनीको उद्दारबाहेक अन्य उडानमा प्रतिबन्ध लगाइएको थियो । तर थापाले सिम्रिक एयर प्रालिको पत्रमार्फत प्राधिकरणलाई सात दिने चेतावनी दिएको र यसको बोधार्थ अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई समेत दिएर प्राधिकरणलाई दबाबमा राख्ने र कारबाहीलाई प्रभाव पार्न खोजेपछि कारबाही गरेको क्यानको भनाइ छ । पटक–पटक हवाई सुरक्षा निर्देशनको अवज्ञा गरेको, स्पष्टीकरण सोध्दा समयभित्र जवाफ नदिएको र प्राधिकरणले गर्न लागेको काममा बाधा पुर्याएको भन्दै १० हजार रुपैयाँ जरिवाना गरेको क्यानले स्पष्ट पारेको छ ।
‘अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठनले नेपालको उडान सुरक्षा निगरानीको क्षमता सम्परीक्षण गर्ने उद्देश्यले उसको विश्वव्यापी सेफ्टी अडिट कार्यक्रम अन्तर्गत १३ देखि २५ अप्रिल २०२२ मा सारा नेपाली उड्डयन क्षेत्र अडिटको काममा व्यस्त भएको अवधिमा थापाले प्राधिकरणको विद्यमान नीति निर्णय तथा कार्यदेशको विरुद्धमा विभिन्न सञ्चारमाध्यममा गएर प्राधिकरणको संस्थागत उड्डयन नीतिको विरुद्धमा अभिव्यक्ति दिई सर्वसाधारण नागरिकमा प्राधिकरणले गरिरहेको काम कारबाहीमा संन्देह उत्पन्न गराएर अडिटलाई प्रभाव पार्ने नकरात्मक सन्देश दिने कार्य गरी प्राधिकरणको कानुनी प्राधिकार कार्यान्वयनमा अवरोध गरेका,’ क्यानले थापालाई गराएको जरिवाना पत्रमा भनिएको छ ।