
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणका अवसरमा यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने बताएका छन् ।
मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तरमा कांग्रेस सांसद उदय शमशेर राणाले सोधेको प्रश्नको जवाफमा प्रचण्डले चीन–नेपाल सम्बन्धलाई नयाँ गति दिने दिशामा आफ्नो भ्रमण केन्द्रित रहने बताएका हुन् ।
‘निकट भविष्यमा हुने मित्रराष्ट्र चीनको भ्रमण दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई उचाइमा पुर्याउँदै, नेपालको सामाजिक आर्थिक विकासलाई गति दिने दिशामा केन्द्रित रहने छ,’ प्रचण्डले भने, ‘यसअघिका सम्झौता कार्यान्वयनमा जोड दिने, आर्थिक–व्यापारिक सम्बन्धलाई सघन बनाउने तथा सीमा नाकालाई प्रभावकारी बनाउने र नयाँ नाका खोल्ने विषय पनि कार्यसूचीमा रहेका छन् ।’
संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी भएर प्रचण्ड असोज ४ गते अमेरिकाबाट चीन जाने कार्यक्रम तय भएको छ । कृषि क्षेत्रमा रुपान्तरणकारी योजनामा चीनको सहयोगका लागि पहल गर्ने प्रचण्डले बताए ।