
अष्ट्रेलियाको सिड्डीमा चुम्बन प्रकरण भएको ९ दिन बितिसक्यो । तर, यो प्रकरण सेलाउनुको सट्टा यसले झनै उग्ररुप लिइरहेको छ ।
चुम्बन प्रकरणका मुख्य अभियुक्त स्पेनिस फुटबल महासंघका अध्यक्ष लुइस रबिलेसकी आमा एन्जेल्स बेजारले भोक हड्ताल थालेपछि यसले उग्ररुप लिएको हो ।
अध्यक्ष रुबिलेसमाथि राजीनामा गर्न दबाब बढिरहेका बेला उनी छोराको बचाउमा भोक हड्तालमा उत्रिएकी हुन् । यसअघि विश्व फुटबल महासंघ फिफा)ले रुबिलेसलाई ९० दिनका लागि निलम्बन गरिसकेको छ । यसैको विरोधमा रुबिलेसका आमा भोक हड्तालमा उत्रिएकी हुन् ।
यसैबीच, स्पेनका महान फुटबलर आन्द्रेस इनियस्टाले पनि चुम्बन प्रकरणबारे आफ्नो धारणा राखेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा राखेको स्पेनिस पत्रिका मार्काले जनाएको छ ।
विश्वकप विजेता इनियस्टाले रुबिलेसको विपक्षमा ट्विटरमार्फत् कडा धारणा राखेका छन् । इनियस्टाले लेखेका छन्, ‘रुबिलेसले हाम्रो देश र फुटबलको छवि धुल्मिल्याए ।’
फिफाले कारबाही गर्नुअघि विश्वकप विजेता स्पेनको महिला राष्ट्रिय फुटबल टोलीले स्पेनिस फुटबल संघका अध्यक्षरुबिलेसले राजीनामा नदिएसम्म देशका लागि कुनै खेल नखेल्ने घोषणा गरेका थिए ।
सिनियर खेलाडीहरू एलेक्सिया पुतेल्लास, एइताना बोनमतीलगायतले सामाजिक सञ्जालमार्फत् यस्तो घोषणा गरेका थिए ।
स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले विश्वकप विजेता आफ्नै देशकी खेलाडी जेनी हेरमेसोलाई गरेको अस्वाभाविक चुम्बनको विरोध गर्दै उनीहरूले यस्तो घोषणा गरेका हुन् ।
स्पेनमा चुम्बन प्रकरण राजनीतिक तहसम्म नै पग्यो । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेसले रुबिलेसको आलोचना गरेपछि यसले राजनीतिक तहसम्म स्थान पाएको थियो । प्रधानमन्त्री सान्चेसले रुबिलेसले जेनीलाई चुम्बन गर्नु क्षमायोग्य नभएको बताएको मार्काले जनाएको छ ।
यस्तै, स्पेनकी दोस्रो वरीयताकी उपप्रधानमन्त्री योलान्डा डियाजले त झन् अध्यक्ष रुबिलेसको राजीनामा नै मागेकी थिइन् । तर, यता रुबिलेसले भने राजीनामा दिन आनाकानी गरेपछि फिफाले कारबाही गरेको हो ।
अष्ट्रेलियामा आइतवार भएको फाइनलमा इंग्ल्यान्डलाई १–० ले हराउँदै स्पेनले पहिलोपटक महिला विश्वकप फूटबलको उपाधि जितेको थियो । सो क्रममा स्पेनिस खेलडी र पदाधिकारीले खुलेरै खुसी मनाएका थिए ।
ट्रफी तथा मेडल वितरण कार्यक्रममा दौरान स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले आफ्नो देशका महिला खेलाडीलाई अंगालो हालेर चुम्बन गरेका थिए । यस क्रममा जेनी हेर्मेसोलाई गरेको चुम्बनले भने विवाद सिर्जना गरेको हो ।
हुन पनि अध्यक्ष रुबिलेसले जेनीको मुखमै चुम्बन गरेका थिए । यसलाई लिएर विश्वभरका सञ्चारमाध्यमहरूले विभिन्न समाचार बनाएका थिए । सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रतिक्रिया दिनेहरूले मुखमा चुम्बन गर्नु खराब नियत भएको बताएका थिए ।
यसपछि स्पेनिस फुटबल संघका अध्यक्ष रुबिलेसले यो घटनालाई लिएर माफी मागेका थिए ।
रुबिलेसले खराब नियतले नगरिएको भए पनि त्यो माफ्नो गल्ती भएको बताएका थिए । तर, उनले दबाबका बीच पनि राजीनामा दिएका छैनन् ।
अर्कोतिर खेलाडी जेनीले भने अध्यक्ष रुबिलेसले आफूलाई चुम्बन गर्दा अफ्ठ्यारो महसुस गरेको प्रतिक्रिया दिएकी थिइन् ।
यसैबीच, स्पेनिस पुरुष खेलाडी बोर्जा इग्लेसियासले पनि गत शुक्रबार फुटबल संघमा रुबिलेस हुँदासम्म राष्ट्रिय टोलीमा नखेल्ने घोषणा गरेका थिए । रियल बेटिसबाट खेल्ने उनले स्पेनका लागि हालसम्म २ खेल खेलेका छन् ।