
अख्तियार दुरुपयोग अनुसन्धान अयोगले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १३ का तत्कालीन कार्यवाहक वडा अध्यक्ष एवं वडा सदस्य दिलावर कवडियाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
९ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका कवडियाविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
कवडियाले अनुदानको लागि सिफारिस गरिदिए बापत सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगबाट खटिएको टोलीले उनलाई सेवाग्राहीबाट लिएको ९ हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा उनले पशु फर्म निर्माण कार्य सम्पन्न भएपछि अनुदान रकम प्राप्त गर्नको लागि वडा कार्यालयबाट सिफारिस गरिदिएवापत सेवाग्राहीसँग घुस मागेको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिए ।
उनलाई आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवानाको सजायसमेत मागदाबी गर्दै मुद्दा दायर गरेको छ ।