
इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड अर्लिङ हालान्डले पिएफए मेन्स प्लेयर अफ दी इयर अवार्ड प्राप्त गरेका छन् ।
प्रोफेसनल फुटबलर्स एसोसियसनले प्रदान गर्ने वर्ष पुरुष खेलाडीको अवार्ड सिटीबाट खेल्ने नर्वेका २३ वर्षीय फरवार्ड हालान्डले जितेका हुन् ।
यस्तै, युवा वर्ष खेलाडीको अवार्ड भने आर्सनलका बुकायो साकाले प्राप्त गरे ।
जर्मन क्लब बोरुसिया डर्टमुन्डबाट गत सिजनमात्र सिटी आएका हालान्डले पहिले प्रयासमै च्याम्पियन्स लिग जित्न सफल भएका थिए । साथै, उनी आबद्ध सिटीले प्रिमियर लिग र एफए कप पनि जित्यो ।
उनले सबै प्रतियोगितामा गरी सिटीका लागि ५२ गोल गरेका थिए । हालान्डले सिटीकै सहकर्मी केभिन डी ब्रुयने र जोन स्टोन्स, आर्सनलका साका र आफ्नै देशका खेलाडी मार्टिन ओडीगार्ड र टोटेनहमका तत्कालीन खेलाडी ह्यारी केनलाई पछि पार्दै सो अवार्ड हात पारेका हुन् ।