
यही असस्ट ३ तारिखमा विश्व फुटबलमा एउटा तरंग छायो । इटाली राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक रोबर्टो मान्चिनीले पदबाट अकस्मात राजीनामा दिएपछि त्यसले विश्व फुटबलमा एक किसिमको तरंग ल्याएको हो । हुन पनि सन् २०२१ म इटालीलाई युरोकप जिताएका प्रशिक्षकलाई राजीनामाको कुनै दबाब थिएन ।
मान्चिनीको प्रशिक्षणमा इटालीलो ३७ खेलमा अपराजित रहेर कीर्तिमान बनाएको थियो । तर, उनले इटालीलाई सन् २०२२ को विश्वकपमा भने छनोट गराउन सकेका थिएनन् । फेरि नेसन्स लिगमा सेमिफाइनलमा रोकिएको इटाली युरोकप छनोटमा पनि लयमा देखिएको छैन । यस्तै कारणले मान्चिनीले पदत्याग गरेको अनुमान छ ।
इटालियन टोली छोडेर मान्चिनी हालै साउदी अरब राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन् । यो एउटा ‘सरप्राइज’ थियो । यसले विश्व फुटबलमा झनै तरंग ल्याइरहेको छ ।

उनी सन् २०२७ सम्म साउदीको मुख्य प्रशिक्षक रहने बताइएको छ । कोस्टा रिकाविरुद्धको आगामी खेल उनको पहिलो खेल हुनेछ । सो खेल ८ सेप्टेम्बरमा हुनेछ ।
मान्चिनीको साउदी यात्रा धेरैलाई अनौठो लागे पनि उनलाई भने स्वाभाविक लागिरहेको छ । एसियामा पछिल्लो समय फुटबलमा बढिरहेको क्रेज र नयाँ देशको अनुभव लिन आफू साउदी गएको उनले स्पष्ट पारेका छन् ।
‘अहिले एसियामा फुटबलको क्रेज बढेको छ । यसैलाई हेरेर मैले यो निर्णय गरेको हुँ । यो मेरा लागि नयाँ देशको अनुभव लिने अवसर पनि हो,’ उनले भने ।

सन् २०२२ मा खाडीकै एक राष्ट्र कतारमा भएको पछिल्लो विश्वकपमा साउदीले समूह चरणको खेलमा पछि विजेता बनेको लियोनल मेसीको अर्जेन्टिनालाई पहिलो खेलमा २–१ ले स्तब्ध बनाएको थियो । यसपछि अहिले क्रिस्टियानो रोनाल्डोजस्ता थुप्रै प्रसिद्ध खेलाडी पनि साउदीको प्रो लिगमा आबद्ध छन् ।
५८ वर्षीय मान्चिनीले सफल प्रशिक्षक मानिन्छन् । उनले सन् २०१२ मा म्यानचेस्टर सिटीलाई पहिलोपटक इंग्लिस प्रिमियर लिगको उपाधि दिलाएका थिए । यस्तै, उनले इन्टर मिलानलाई तीन पटक इटालियन सिरी ‘ए’ लिग च्याम्पियन बनाएका छन् ।
मान्चिनीले इटालियन क्लबहरू फियोरेन्टिना र लाजियो, टर्कीस क्लब गालाटासारे र रसियन क्लब जेनिथ सेन्ट पिटर्सवर्गको प्रशिक्षण सम्हालिसकेका छन् ।