
सशस्त्र प्रहरी उपरीक्षक स्वर्गीय सुमन थपलियाको स्मृतिमा बेस्ट इन्टिग्रीटी अफिसर अवार्ड प्रदान गरिने भएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले आगामी सशस्त्र प्रहरी बल दिवसदेखि उक्त अवार्ड प्रदान गर्ने घोषणा गरेका हुन् ।
स्वर्गीय थपलियाको स्मृतिमा शुक्रवार पर्सा स्थित नं. १३ गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा उनले अवार्डको घोषणा गरेका हुन् ।
पेशागत रुपमा दक्ष, उच्च अनुशासनलगायतका पक्षलाइ मूल्यांकन गर्दै प्रत्येक वर्ष एक जना अधिकृतलाई सो पुरस्कार प्रदान गरिने छ । स्व. थपलियाको १२ औं दिनको स्मृति कार्यक्रममा महानिरीक्षक अर्यालले उनको असामयिक निधनबाट एक कुशल र क्षमतावान अधिकृत गुमाउनु पर्दा संगठनलाई अपुरणीय क्षति पुगेको बताए ।
यसैबीच महानिरीक्षक अर्यालसँगको भेटमा विरगन्ज उद्योग वाणिज्य संघले स्व. थपलियाको स्मृतिमा २ लाख रुपैयाँको अक्षयकोषको स्थापना गर्ने घोषणा गरेको छ ।
गणमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा विरगन्ज महानगरपालिकाका प्रमुख, उपप्रमुख, पर्साका प्रमुख जिल्ला अधिकारी, विरगन्ज भन्सारका प्रमुख, सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनिका बाहिनिपतिलगायत अन्य सुरक्षा निकायका जिल्लास्थित प्रमुख तथा अन्य संघ–संस्थाका पदाधिकारी, स्थानीयको उपस्थिति रहेको थियो ।
नं. १३ गण पर्साको गणपति रहेका थपलियाको यही भदौ २ गते शनिवार निधन भएको थियो ।