
विपिन कार्की अभिनीत फिल्म ‘पशुपति प्रसाद २ : भष्मे डन’को पहिलो गीत सार्वजनिक गरिएको छ । बिहीबार जनैपूर्णिमाको अवसर पारेर फिल्ममा समावेश ‘दुई चुल्ठी बाटन’ बोलको गीत रिलिज गरिएको हो ।
सार्वजनिक गीतमा फिल्मका मुख्य कलाकार विपिनसँगै अभिनेत्री आँचल शर्मा र अभिनेता निश्चल खड्कालाई फिचर्ड गरिएको छ । आँचल र निश्चललाई फिल्मको यही गीतमा मात्रै विशेष भुमिकामा देख्न सकिने निर्माण टिमले जनाएको छ ।
नक्कली कपाल लगाएर प्रस्तुत विपिन फरक लुक्समा देखिएका छन् ।
सार्वजनिक गीतमा बि पाण्डेको शब्द रचना, सुवास भुषालको संगीत एवं मेलिना राई र निशान भट्टराईको स्वर सुन्न सकिन्छ । प्रविन सिंहको कोरियोग्राफीमा यो गीतको भिडियो तयार भएको हो ।
दीपेन्द्र के खनालको निर्देशनमा निर्माण भएको ‘पशुपति प्रसाद २ : भष्मे डन’ आगामी दशैंमा प्रदर्शनमा ल्याउने तयारी छ। फिल्ममा विपिनका अलवा स्वस्तिमा खड्का, सौगात मल्ल, रविन्द्र सिंह बानियाँ, माओत्से गुरुङ, प्रकाश घिमिरे, लोकेन्द्र लेखक, मिस्श्री थापा, सजन थापा मगर, विभु पौडेल, प्रकाश दाहाल लगायतको अभिनय छ ।
फिल्ममा अभिनेता तथा निर्माता खगेन्द्र लामिछाने र अभिनेत्री बर्षा सिवाकोटी पनि विशेष भुमिकामा देखिनेछन् । टुकी आर्टस्को ब्यानरमा निर्माण भएको फिल्मलाई निर्माता तथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् । फिल्मको निर्माता पनि उनी स्वयं हुन् । निरज कँडेलको डिओपी, कृष्ण थापाको छायांकन रहेको फिल्ममा दीर्घ खड्काको सम्पादन छ ।
व्यावसायिक तथा समीक्षात्मक रुपमा सफल फिल्म ‘पशुपति प्रसाद’को चरित्र ‘भष्मे डन’मा केन्द्रित रहेर यो फिल्म निर्माण गरिएको हो ।