
प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी मोर्चा समाजवादको नयाँ यात्रामा जाने आन्दोलन भएको बताएका छन् । उनले आफ्नो समग्र जीवन राष्ट्रका लागि दिने बताए ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा समाजवादी मोर्चा नेपालद्वारा आज आयोजित ‘सन्देश सभा’लाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले मुलुकको समृद्धि, सुशासन र सामाजिक न्यायका लागि समाजवादी मोर्चा गठन भई यसले आफ्नो अभियान थालेको बताए ।
क्रान्तिकारीहरूलाई चनाखो बन्न र अझ ठूलो मोर्चा बनाएर एकताबद्ध ढङ्गले अगाडि बढ्न आग्रह गर्दै प्रधानमन्त्री दाहालले मुलुक र नेपाली जनतालाई केन्द्रविन्दुमा राखेर कम्युनिष्टहरूले आन्दोलनलाई गन्तव्यमा पुर्याउनुपर्नेमा जोड दिए । कम्युनिष्टहरूको नेपालको परिवर्तनमा ऐतिहासिक भूमिका भएको बताउँदै उनले समाजवादी मोर्चा जनताको तागत बनेर आउने जिकिर गरे ।
सम्बोधनका क्रममा उनले मुलुकमा व्याप्त भ्रष्टाचारविरुद्ध लडाइँ सुरु भएको र अब यो नरोकिने प्रतिबद्धता व्यक्त गरे ।