
१४ करोड ८१ लाख रुपैयाँ अकुत सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अभियोगमा मालपोतका नायब सुब्बा मदन गुप्ताविरुद्ध दायर मुद्दाको सुनुवाइ नसकिएपछि विशेष अदालतले शुक्रवार पनि हेर्दाहेर्दैमा राखेको छ ।
उनीविरुद्ध दर्ता भएका ६ वटा मुद्दामध्ये यो एक हो । सबै मुद्दाको कुल बिगो रकम झण्डै २३ करोड छ । २०७६ जेठमा २ करोड ५० लाख, ४ करोड ५८ लाख र बिगो दाबी नगरिएको अर्को एकसहित ३ वटा भ्रष्टाचार मुद्दा दायर भएको थियो ।
०७६ मंसिर २ गते ७७ लाख ८६ हजार र १० गते १४ करोड ८१ लाख बिगो कायम गरी छुट्टाछुट्टै मुद्दा दायर भएको थियो । त्यसपछि २०७९ असोज ७ गते १२ लाख ३७ हजार बिगो दाबी गरी अर्को मुद्दा दायर भएको थियो ।
शुरूमा दायर भएका प्राय: मुद्दामा ठहर तथा आंशिक ठहर भएकोमा अहिले सबैभन्दा ठूलो मुद्दाको सुनुवाइ भइरहेको हो ।
तत्कालीन अवस्थामा मालपोत कार्यालय कलैया दरबन्दी भई मालपोत कार्यालय सिमरामा कार्यरत रहेका नासु गुप्ताविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १४ करोड ८१ लाख रुपैयाँ गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोपसहित २०७६ मंसिर १० गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
गुप्ताले आफूले कमाएको सम्पत्ति श्रीमती रिता देवी, छोराहरू विक्की गुप्ता र रकी गुप्ताको नाममा लुकाएको आरोपमा उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ । त्यसैगरी उनले आर्जन गरेका सम्पत्तिहरू आफन्तका नाममा पनि लगानी गरेको अभियोगपत्रमा उल्लेख छ ।
सोही मुद्दामा उनका आफन्तहरू कविता कुमारी, निरज कुमार गुप्ता, राजेशकुमार गुप्ता, जुगुलीप्रसाद र जगतनारायण यादवको नाउँमा समेत लगानी गरेकाले उनीहरूलाई पनि प्रतिवादी बनाइएको छ ।
२०४७ साल असार २७ गते मालपोत कार्यालय मुस्ताङबाट खरिदार बनेका गुप्ता २०६४ सालमा नासुमा बढुवा भएका थिए । उनी मालपोत कार्यालय सिमराको निमित्त प्रमुख भएका बेला मुद्दा दायर गरिएको थियो ।
नायव सुब्बाको पदमा बढुवा भई मालपोत कार्यालय पर्सा हुँदै मालपोत कार्यालय सिमरामा निमित्त कार्यालय प्रमुख समेतको जिम्मेवारीमा कार्यरत गुप्ताको सार्वजनिक सेवा प्रवेशदेखि आर्थिक वर्ष २०७५/०७६ सम्मको अवधिलाई जाँच अवधि लिएर अख्तियारले अनुसन्धान गरेको थियो ।
उक्त जाँच अवधिभित्र कुल १९ करोड ३६ लाख रुपैयाँ आर्जन गरेका उनले तलब र अन्य वैध आयबाट ४ करोड ५४ लाख रुपैयाँ मात्रै आर्जन गरेको अख्तियारको दाबी छ ।
अनुसन्धानको क्रममा संकलित तथ्य प्रमाणहरूबाट गुप्ताले आफू तथा आफ्नो परिवारका सदस्यहरू लगायत अन्य व्यक्ति समेतका नाममा दर्ता कायम रहने गरी घर, जग्गा, सवारी साधन, व्यवसाय लगायतका विभिन्न शीर्षकमा खर्च गरेको पाइएको अभियोगपत्रमा उल्लेख छ ।
गुप्ताले परिवारका सदस्यहरूका नाममा घर खरिद तथा निर्माणमा ४ करोड ८ लाख ५१ हजार रुपैयाँ, परिवारका सदस्यहरूका नाममा जग्गा खरिदमा ९० लाख १४ हजार १ सय रुपैयाँ, बैंक तथा वित्तीय संस्थाबाट लिइएका कर्जा र कर्जा चुक्ता समेतमा ३ करोड २७ लाख ४५ हजार १२ रुपैयाँ खर्च गरेको अभियोगपत्रमा उल्लेख छ ।
त्यसैगरी गुप्ताले पुँजीगत लगायतका कर शीर्षकमा ९ लाख ७० हजार २६० रुपैयाँ, सवारी साधन खरिदमा २७ लाख ६२ हजार ५ सय रुपैयाँ, पार्वती स्टेशनरी, गायत्री निशान अटो कर्प प्रालि, नेपाल रोडसाइड एसिस्टेन्स समेतका व्यवसायमा ७१ लाख रुपैयाँ लगानी गरेको तथा ४३ लाख रुपैयाँ सापटी दिएको अभियोगपत्रमा उल्लेख गरिएको छ ।
पारिवारिक लालनपालन लगायतका अतिरिक्त खर्च, शैक्षिक खर्च, सुन चाँदी खरिद, विद्युतीय उपकरण, छोरा विक्की गुप्ताको विवाह लगायतमा ६१ लाख रुपैयाँ खर्च गरेका थिए ।
त्यसैगरी गुप्ताले परिवारका सदस्य बाहेकका अन्य व्यक्तिहरू कविता कुमारी, राजेशकुमार गुप्ता, इन्दिरा देवी काफ्ले लगायतका नाममा दर्ता कायम रहने गरी खरिद गरी राखेका घर र जग्गाहरूमा ५ करोड २७ लाख ८९ हजार ५ सय रुपैयाँ लगानी गरेको अख्तियारको दाबी छ ।
परिवारको सदस्यबाहेकका अन्य व्यक्ति निरजकुमार गुप्ताको नाममा सवारी साधन जीप खरिदमा ४० लाख रुपैयाँ, परिवारको सदस्य बाहेकका व्यक्ति राजेशकुमार गुप्ताको नाममा निशान ट्रेडर्स (पेट्रोल पम्प) मा ४० लाख रुपैयाँ लगानी गरेको पाइएको अख्तियारको अभियोगपत्रमा उल्लेख छ ।
नासु गुप्ता र संलग्न अन्य समेतका नाममा सञ्चालित विभिन्न बैंक खाताहरूमा २ करोड ८५ लाख २८ हजार ८९२ रुपैयाँ मौज्दात रहेको अभियोगपत्रमा उल्लेख छ ।
यसरी कुल १९ करोड ३६ लाख ६१ हजार १६९ रुपैयाँ खर्च तथा लगानी गरेको तुलनामा ४ करोड ५४ लाख ७२ हजार २ सय ४६ रुपैयाँ मात्र वैध आय रहेको अख्तियारको दाबी छ ।
१४ करोड ८१ लाख ८९ हजार २३ रुपैयाँ बराबरको सम्पत्तिको स्रोत नखुलेको भन्दै अख्तियारले नासु गुप्ता, उनका परिवारका सदस्य तथा बाहिरका सदस्यहरू समेत गरी ९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
सोही मुद्दा आज विशेष अदालतका अध्यक्ष न्यायाधीश श्रीकान्त पौडेल, सदस्य न्यायाधीशद्वय शालिग्राम कोइराला र बलभद्र बास्तोलाको इजलासमा सुनुवाइ भइरहेको छ । हेर्दाहेर्दैमा राखिएको उक्त मुद्दा अन्तिम सुनुवाइमा राखिएको हो ।