०७ साउन २०८३, बिहीबार
राउण्ड अप

सरसर्ती २४ घण्टा : श्रीमती सवार गाडी ट्राफिकले रोक्दा बालेन आक्रोशित !

भदौ १७, २०८०
काठमाडौं
सरसर्ती २४ घण्टा : श्रीमती सवार गाडी ट्राफिकले रोक्दा बालेन आक्रोशित !

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनााक्रमसहित उपस्थित भएका छौँ–
झन्डै २५ लाख जनतासँग प्रत्यक्ष संवाद गर्ने लक्ष्यका साथ सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले शनिबारदेखि जनतासँग माओवादी रुपान्तरण अभियान सुरु गरेको छ ।

 सो अभियानको उद्घाटन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शनिबार बिहान पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरे । 

यस्तै औपचारिक कार्यक्रमका लागि अध्यक्ष प्रचण्ड शनिबार नै चन्द्रागिरिस्थित वडा नं २ मा रहेको घट्टेडाँडा पार्कमा पुगे । गत स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा प्यानलसहितै विजयी भएको थियो । माओवादीले सात प्रदेशका सात सय ५३ वटै पालिकाका छ हजार सात सय ४३ वडामा नै अभियानको उद्घाटन भएको जनाएको छ ।

यसैबीच प्रचण्डले सरकारले अघि बढाएको सुशासनको अभियानले नागरिकमा भरोसा जागेको बताएका छन् । देशभर पार्टीको तीन महिने अभियान घोषणा गर्दै प्रचण्डले सरकारको सुशासनमुखी कामबाट राजनीतिप्रति भरोसा जागेको टिप्पणी गरेका हुन् ।
००००
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र)ले सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका छन् । उनले महानगरपालिकाको गाडी संघीय सरकारले रोकेको भन्दै यस्तो धम्की दिएका हुन् । 

‘आजको लागि केही भएन । भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु ’, उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

उनले सरकारलाई ‘चोर’को संज्ञा समेत दिएका छन् । उनले भनेका छन्, ‘याद राख चोर सरकार !’
बालेनले सरकारको कामकारबाहीप्रति निरन्तर कटाक्ष गर्दै आएका छन् । तर, पछिल्लो समय शनिबार भने उनले अराजक अभिव्यक्ति दिएका हुन् ।
यसैबीच ट्राफिक प्रहरीले बालेन पत्नी सविना सवार गाडी रोकेपछि उनी आक्रोशित भएर सामाजिक सञ्जालमा लेखेको खुलेको छ । सरकारी गाडी सार्वजनिक बिदाको दिन पास बिना चलाउन नपाइने नियम छ । यही नियमअनुसार तीव्र गतिमा समेत रहेको बालेन पत्नी सवार सरकारी गाडी रोकेर सोधपुछ गर्दा बालेन आक्रोशित भएका हुन् । 

शनिबार राति कोटेश्वरमा सेतो नम्बर प्लेटको रातो गाडीलाई कोटेश्वर ट्राफिक प्रहरीले रोकेको थियो । केही सोधपुछपछि गाडी छाडिएपनि यही विषयलाई लिएर बालेनले आपत्तिजनक पोस्ट गरेका हुन् । 
००००
नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नेकपा एमाले आफैँ समाप्त भएर जाने टिप्पणी गरेका छन् । 
अध्यक्ष नेपालले नेकपा (एस) लाई समाप्त पार्ने घोषणा गरिरहेको एमाले आफैँ सोत्तर भइरहेको र हावा खाईरहेको जिकिर गरेका हुन् ।
००००
यस साता धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचकले ओरालो यात्रा बनाएको छ । कुल चार कारोबार दिनमा तीन दिन घटेको सेयर बजार एक दिन बढेको थियो ।

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०का अनुसार सेयर बजारमा यो हप्ता चार दिनमा कुल रु चार अर्ब २४ करोड ६५ लाख २४ हजार नौ सय ३२ बराबरको कारोबार भएको छ ।  साताको पहिलो दिन आइतबार परिसूचक २० दशमलव ५४ अङ्कले घटेर एक हजार नौ सय ९३ दशमलव ३८ पुगेको बजारमा रु एक अर्ब २६ करोड २७ लाख ६७ हजार आठ सय ७६ मूल्य बराबरको कारोबार भएको थियो ।

यस दिन कुल दुई सय ८० कम्पनीका ३८ लाख ९५ हजार दुई सय ३६ इकाई सेयर कारोबार भएका थिए ।
००००
सङ्खुवासभाको कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा प्रहरीले कारागारका दुई कर्मचारीलाई नियन्त्रणमा लिएको छ । 
कैदीको हत्या प्रकरणमा मुछिएका कारागारका कम्प्युटर अपरेटर इन्द्रनारायण यादव र कार्यालय सहयोगी ढकलाल कार्कीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
००००
नेपालमा डेङ्गु सङ्क्रमण बढिरहेको छ । इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्कअनुसार हालसम्म डेङ्गु सङ्क्रमण २१ हजार दुई सय छ जनामा पुष्टि भएको छ ।
००००
नेकपा एमालेका उच्चस्तरका नेता शनिबार चीन भ्रमणमा गएका छन् । महासचिव शङ्कर पोखरेल नेतृत्वमा रहेको पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल साँझ चीनतर्फ प्रस्थान गरेको एमाले प्रचार विभागका सचिव गगन विष्टले जानकारी दिए ।
००००
राष्ट्रिय प्रजातन्त्र पार्टीले नवीन राप्रपा अवधारणाअन्तर्गत पार्टीलाई युवामैत्री बनाउन २० केन्द्रीय सदस्यका लागि खुला आवेदनको समयावधि यही भदौ मसान्तसम्म थप गरेको छ ।

पार्टीले देशभरबाट ४० वर्षमुनिका क्षमतावान युवालाई नेतृत्व तहमा लैजान केन्द्रीय सदस्य पदका लागि यही भदौ १५ गतेसम्म खुला आवेदन माग गरेकामा दुई साता समयसीमा थप गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । 
००००
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो पार्टी सङ्घीयताको पक्षमा रहेको बताएका छन् ।  
सप्तरीको राजविराजमा आज पत्रकारसँग कुराकानी गर्दै शिक्षा, स्वास्थ्य, सामाजिक परिवर्तनको सूचकका रुपमा रहेको क्षेत्रमा भइरहेको बेथितिको अन्त्य हुनुपर्ने बताए ।
००००
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले आगामी निर्वाचनमा पार्टी आँधी तुफान बनेर आउने दाबी गरेका छन् । त्यसका लागि मिनस– २०८४ मा लाग्न अहिलेदेखि नै कार्यकतालाई उनले आग्रह गरेका छन् । 

शनिवारदेखि बुटवलमा शुरू भएको एमाले लुम्बिनी प्रदेशको पहिलो अधिवेशनमा बोल्दै पौडेलले भने, ‘अहिलेको प्रतिक्रियावादी सरकार जनहित विपरीतका कार्यविरुद्ध सडकमा पनि आँधी तुफान बनेर आउनेछ । आउँदो निर्वाचनमा एमाले बहुमतसहितको सरकार बन्ने गरी लागेको छ ।’ पौडेलले एमाले नेतृत्वमा बहुमतसहितको सरकारविना देशले समृद्धि हासिल गर्न नसक्ने दाबी समेत गरे ।

सोही कार्यक्रममा महासचिव शंकर पोखरेलले मुलुकको लागि धेरै दल होइन थोरै बलिया शक्तिको खाँचो रहेको बताएका छन् ।
००००
कांग्रेस सभापति शेरबहादुर देउवाले शनिबार उपचाररत उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले जनतामा ठूलो छटपटी र आक्रोश बढिरहेको बताएका छन् । जनतामा छटपटी र आक्रोश बढेको बताउँदै उनले बदलिएको कांग्रेसले मात्र देश बदल्ने सामथ्र्य राख्ने बताए ।

नेपाली कांग्रेस मेचीनगर समितिको धुलाबारीमा आयोजित नगर सम्मेलनमा उनले सबैजसो राजनीतिक दलको नेतृत्वले गलत क्रियाकलाप गर्दा समाजले आत्मविश्वास गुमाएको जनाउँदै कांग्रेसले अब जरैदेखि रुपान्तरित भएर गुमेको आत्मविश्वास फर्काउनुपर्ने बताए ।
००००
एक समयकी निकै चर्चित अभिनेत्री निरुता सिंहले विवाह गरेकी छन् । 
उनले गत बिहीवार मुम्बई निवासी सञ्जिभ गुलाटीसँग लगनगाठोँ कसेकी हुन् । उनले सामाजिक सञ्जाल फेसबुकमा शनिवार श्रीमानसँगको तस्वीर राख्दै आफूले विवाह गरेको जानकारी दिएकी छन् । उनले चाँडै सबैलाई भेट्न अनि आशीर्वाद लिन नेपाल आउने बताएकी छन् ।

कमेन्ट गर्नुहोस्