
नेकपा एमाले लुम्बिनी प्रदेश अधिवेशनको दोस्रो दिन बन्दसन्त्र शुरू भएको छ । बुटवलस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा पुगेर आइतवार बिहान पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरेका छन् ।
बन्दसन्त्रमा बोल्दै अध्यक्ष ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न फेरि आग्रह गरेका छन् ।
तर चुनावमा जानबाट पनि कुनै रोकतोक नहुने उनको भनाइ छ । ‘देशभर लुम्बिनीबाट सन्देश दिनु छ’ अध्यक्ष ओलीको भनाइ उद्धृत गर्दै प्रचार विभाग प्रमुख डीआर घिमिरेले भने, ‘यहाँ चुनाव भए अन्यत्र पनि त्यही सन्देश जान्छ । सर्वसम्मत भए सबैतिर सर्वसम्मत बनाउन सकिन्छ । फेरि केन्द्रले रोक्यो भन्ने होइन । चुनावमा जान पनि सक्नुहुन्छ ।’
शनिवार उद्घाटन सत्रपछि राति बन्द सत्रमा राजनीतिक प्रतिवेदन प्रस्तुत भएको थियो । प्रतिवेदनमाथि आइतवार शुरू भएको बन्द सत्रमा प्रतिनिधिहरूले छलफल गर्ने छन् ।
अध्यक्ष मण्डलले प्रतिवेदनमाथि आफ्ना सुझाव वा टिप्पणी भए लिखितरुपमा उपलब्ध गराउन शनिवार नै निर्देशन गरेको थियो । लिखित आएका टिप्पणी र सुझावको जवाफ दिएपछि थप विषयमा छलफल हुनने घिमिरेले बताए ।
बन्द सत्रको अध्यक्षता एमाले केन्द्रीय सचिव एवं लुम्बिनी इन्चार्ज पद्मा अर्यालले गरिरहेकी छिन् । सदस्यमा स्थायी कमिटी सदस्य कांशीकराज अधिकारी, दलबहादुर राना, डा. पुष्पराज कँडेल, पोलिटब्यूरो सदस्य सूर्य थापा, नरुलाल चौधरी, शान्ता चौधरी, केन्द्रीय सदस्य सावित्रा अर्याल र सरिता खनाल रहेका छन् ।
आइतवार बिहानैदेखि मणिग्रामस्थित ड्रिम ल्यान्ड होटलमा छलफल जारी छ । प्रदेश अध्यक्षका लागि शनिवारबाट निवर्तमान भएका राधाकृष्ण कँडेल र केन्द्रीय सदस्य हरि रिजाल आकांक्षी छन् ।
अध्यक्षमा दुई जनाको सशक्त दाबेदारी भएपछि अन्य पद ओझेलमा परेका छन् । दुवै जनाले दाबी नछाड्ने संकेत देखिएपछि निर्वाचनमा जाने सम्भावना बढी देखिएको प्रतिनिधिहरू बताउँछन् ।
अधिवेशनमा सहभागी १२ जिल्लाका १ हजार ४ प्रतिनिधिले २ सय ५ सदस्यीय प्रदेश कमिटी चयन गर्ने छन् ।
नेतृत्व सर्वसम्मत गराउन केन्द्रीय उपाध्यक्ष विष्णु पौडेल, उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, पोलिटब्यूरो सदस्य लीला गिरी, केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालले प्रयास गरिरहेका छन् ।
तर सर्वसम्मतको सम्भावना न्यून रहेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए ।