असोज, ३ काठमाडौं– राजधानी काठमाडौं छिर्ने मुख्य नाका हो नागढुङ्गा । हरेकजसो सवारी साधानदेखि अन्य सबै कुरामा प्रहरीको विशेष निगरानी हुन्छ । नागढुङ्गामा ड्युटी गर्ने प्रहरीका लागि आराम भन्ने त ‘शब्द’ नै हुँदैन ।
मंगलवार विहान ३ बजिसकेको थियो । ड्यूटीमा थिए, प्रहरी नायव निरीक्षक देउबहादुर चन्द । चन्द नागढुङ्गामा सरुवा भएर आएको ६ दिन मात्रै भएको थियो । ड्युटीमा खटिएको उनको त्यो पहिलो दिन थियो । मंगलबार बिहान ३ बजे दिल्लीबाट काठमाडौं चल्ने ना ५ ख १०२ नम्बरको बस आइपुग्यो । बसमा ५ जनामात्रै यात्रु थिए ।
सुरुमा चेकिङ भयो । प्रहरीले समान्य रुपमा हेर्दा केही भेटिएन । प्रहरीले पास भनेपछि गाडी गुड्न थाल्यो ।

दिल्लीबाट काठमाडौं चल्ने बस । दशैंको बेला छोटो रुटमा चल्ने गाडी समेत यात्रुले भरिभराउ हुने बेला त्यो बसमा जम्मा ५ जना मात्रै यात्रु देखेपछि चन्दको मनमा शंका उब्जियो । ‘मैले गुडेको गाडी फेरि रोक्न भने । आफै गाडीको चेकजाँचमा लागे,’ चन्द सुनाउँछन् । ड्युटी इञ्चार्ज चन्दले बसका सबै पूर्जाहरु खोल्न लगाए । सुरुमा बसका चालक र सहचालकले मानेन् । तर प्रहरीले आफैं खोलेर हेर्दा बसका सिटदेखि अन्य सबैजसो पुर्जामा सामान देखिए ।
खोल्दै जाँदा बसको बडी, च्यासीस, र्याक सबैमा झण्डै १० लाख बढीको भारतीय रेडिमेट सुट देखिए । प्रहरीले बस र सामान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएको सामान आवश्यक प्रक्रियाका लागि काठमाडौं भन्सारमा बुझाइएको प्रहरी नायव निरीक्षक चन्दले बताए ।