०४ साउन २०८३, सोमबार

सरकारको प्राथमिकतामा क्रिकेट पूर्वाधार निर्माण, देशभर धमाधम बन्दैछन् खेल मैदान र रंगशाला

भदौ २०, २०८०
काठमाडौं
सरकारको प्राथमिकतामा क्रिकेट पूर्वाधार निर्माण, देशभर धमाधम बन्दैछन् खेल मैदान र रंगशाला
  • नारायण न्यौपाने

नेपालमा पछिल्लो समय क्रिकेटको लोकप्रियता बढेसँगै सरकारले आवश्यक पूर्वाधार निर्माण कार्यलाई तीव्रता दिएको छ । सरकारले देशका विभिन्न भागमा क्रिकेट मैदान र रङ्गशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको हो । 

काठमाडौंको मूलपानीस्थित क्रिकेट रङ्गशाला निर्माण आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भइसकेको युवा तथा खेलकुद मन्त्रालयले जनाएको छ । उक्त रङ्गशालाको भीआइपी प्याराफिट ब्लक ढलान भई प्लास्टरको काम भइरहेको छ ।

यस्तै भैरहवा क्रिकेट रङ्गशालामा ‘ब्लक बी’ आयोजनाको काम २२ दशमलव पाँच प्रतिशत निर्माण सम्पन्न भएको छ । बाँकेको कोहलपुरमा महिला क्रिकेट एकेडेमीको ‘ब्लक एच’ र कास्कीको पोखरा क्रिकेट रङ्गशालाको एउटा ब्लक निर्माणकार्य शुरू भएको मन्त्रालयको आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रगति समीक्षा कार्यक्रममा उल्लेख छ ।

 यसैगरी कञ्चनपुरको महेन्द्रनगरस्थित क्रिकेट रङ्गशाला निर्माणका लागि मैदान तयार गर्ने कार्य भएको छ भने सुर्खेत क्रिकेट खेलमैदानको काम चालू छ । काठमाडौँको बूढानीलकण्ठ क्रिकेट रङ्गशालाको मैदानको कार्य शुरू गरिएको छ भने गण्डकी प्रदेशको पोखरा रङ्गशाला निर्माण आयोजना सम्पन्न भएको छ ।

सुदुरपश्चिम प्रदेशमा कैलालीको धनगढी रङ्गशालाको ४६ प्रतिशत निर्माणकार्य सम्पन्न भएको मन्त्रालयले जनाएको छ । नेपालगन्ज रङ्गशालामा भने सेन्थेटिक ट्रयाक निर्माणका लागि ड्रेन ढलानकार्य भइरहेको छ । उक्त आयोजनाको ७७ प्रतिशत निर्माणकार्य पूरा भएको छ ।

बाराको सिमरा रङ्गशालाको ४१ प्रतिशत, नारायणी रङ्गशालाको २० प्रतिशत, पाँचथरको फिदिम रङ्गशालाको १५ दशमलव ८५ प्रतिशत तथा सुनसरीको धरान रङ्गशालाको ५४ प्रतिशत निर्माणकार्य पूरा भएको छ । पोखरा रङ्गशालामा बोरिङ निर्माणकार्य शुरू गरिएको छ भने ललितपुरमा च्ययासल रङ्गशाला निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । 

नारायणी कभर्डहलको निर्माणको ३० प्रतिशत, चुनिखेल कभर्डहलको २० प्रतिशत र रामेछापको सुनापति राष्ट्रिय स्मृति कभर्डहलको २० प्रतिशत निर्माणकार्य पूरा भएको छ । हाइ अल्टिच्युट ट्रेनिङ सेन्टर निर्माणका लागि मनाङको तिमाङमा खेलमैदान सम्याउने, घेराबार गर्ने र पर्खाल लगाउने काम भइरहेको छ भने जुम्लामा मैदान सम्याउने काम पूरा भएको छ ।

काठमाडौँको कागेश्वरी मनोहरामा खेलाडी आवासगृह र ललितपुरको सातदोबाटोमा तेक्वान्दो खेलाडीका लागि आवासगृह निर्माण गर्न डीपीआर तयार भएको मन्त्रालयको समीक्षा प्रतिवेदनमा उल्लेख छ । निर्माण सम्पन्न भएका पूर्वाधारको नियमित सम्भारका लागि बजेट व्यवस्थापन र  केन्द्र, प्रदेश र स्थानीय तहका विभिन्न खेलमैदानका लागि रकम विनियोजन गर्ने कार्यलाई पनि सरकारले नियमित गरेको छ । 

सरकारले आगामी २०८१ सालमा कर्णाली प्रदेशको सुर्खेतमा आयोजना गरिने १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको पूर्वाधार निर्माणका लागि बजेटको जोहो गरिरहेको मन्त्रालयले जनाएको छ । 

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको नाममा रहेको रङ्गशालालाई अन्तर्राष्ट्रियस्तरको सुविधासम्पन्न रङ्गशालाका रूपमा विकास गर्न राष्ट्रिय गौरवको आयोजनामा समावेश गर्ने सोच मन्त्रालयले अघि सारेको छ ।

मन्त्रालयले खेलकुद पूर्वाधार निर्माण कार्यको लक्षित प्रगति समयमै हासिल गर्न प्राविधिक जनशक्ति भएको सरकारी निकायमार्फत् गर्न सिफारिस गर्ने निर्णय पनि गरेको छ । मुलुकलाई विश्वजगत्मा परिचित गराउने, राष्ट्रको इज्जत र प्रतिष्ठा बढाउने तथा कूटनीतिक सम्बन्ध विस्तारमा खेलकुद क्षेत्रको महत्त्वपूर्ण योगदान छ ।

सरकारले तीन तहको समन्वय र सहकार्यमा  खेलकुद पूर्वाधारको निर्माण, संरक्षण र स्तरोन्नति गर्ने नीति अघि सारेको छ । खेलकुद पूर्वाधारको विकास, व्यवस्थापन र गतिविधि सञ्चालनमा निजी क्षेत्रलाई प्रोत्साहन गर्ने मन्त्रालयको प्रतिबद्धता छ । 

प्रतिभावान खेलाडी पहिचान, क्षमता विकास तथा प्रोत्साहन गर्ने तथा समाजमा खेलकुदको महत्व स्थापित गर्दै सबैलाई खेलकुदमा सहभागी हुने अवसर सिर्जना गर्ने सरकारको अठोट छ । रासस

salt training

कमेन्ट गर्नुहोस्