०४ साउन २०८३, सोमबार

नेपाल छिर्ने प्रमुख स्थल नाका अस्तव्यस्तः आउनेबित्तिकै नाक खुम्च्याउँछन् पर्यटक

भदौ २७, २०८०
काठमाडौं
नेपाल छिर्ने प्रमुख स्थल नाका अस्तव्यस्तः आउनेबित्तिकै नाक खुम्च्याउँछन् पर्यटक

स्थलमार्ग हुँदै मुलुकमा धेरै पर्यटक भित्रिने प्रवेशद्वार हो, रूपन्देहीको बेलहिया (सुनौली) नाका ।

काठमाडौं, पोखरा र लुम्बिनीलाई पर्यटकसँग जोड्ने सुनौली नाका दशकौंदेखि अस्तव्यस्त छ । यस नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरू हिलो र धुलोमा रुमल्लिँदै भित्रिनुपर्ने बाध्यता छ ।

नेपाल प्रवेश गर्नेबित्तिकै सफा, चिटिक्क र आकर्षक सडक र शहर देखाएर पर्यटकलाई आकर्षित गर्नुपर्ने हो । तर, नेपाल छिर्नेबित्तिकै नाकामा धुलो/धुवाँ, भत्काएर असरल्ल छोडिएका सडक, फोहोर अनि अव्यवस्थित गाडी पार्किङले मुलुकको अव्यवस्था देखाउँछ ।

यो नाका सिद्धार्थनगर नगरपालिका पर्छ । मालबाहक गाडी, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड हुन्छ । सुनौलीको प्रवेशद्वारा (गेट)मा ‘वेलकम टु नेपाल’ समेत लेखिएको छैन ।

गाडी पार्किङलाई व्यवस्थित बनाउनका ट्राफिक प्रहरी समेत नाकामा देख्न पाइँदैन । चर्को गर्मीमा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलाम्मे सडकले नाकामै पर्यटकहरूले नाक खुम्च्याउँछन्, अनि भन्छन्, ‘नेपाल यस्तै रहेछ’ । 

null

वि.सं. २०६८/०६९ बाट ‘सिक्स लेन’ सडक बनाउने भनेर बेलहिया नाकामा शुरू भएको काम सकिएको छैन । उप्काइएको सडकमा ठूला गाडीले उडाउने धुलो र धुँवाले पर्यटकसँगै स्थानीय बेलहियाबासी पनि आजित छन् ।

सडक किनारको ढल, फोहोर तथा जमेको हिलो पानी गनाएर नाक थुन्नुपर्छ । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको भीडभाडले अझै कुनै–कुनै बेला नाकामा खुट्टा टेकाउने समेत ठाउँ हुँदैनथ्यो ।

अहिले भैरहवा भन्सार कार्यालयले सीमावर्ती बजारको किनमेलमा अनिवार्य भन्सारको व्यवस्था गरेपछि पारि (भारत) किनमेल गर्न जानेको संख्यामा केही कमी आएको छ । 

नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले बेलहियामा पर्यटकसँगै भारतमा रोजगारी गरेर फर्किएका नेपालीले निकै सास्ती खेप्नु परेको बताइन् ।

null

‘पर्यटकलाई व्यवस्थित र सुविधायुक्त सवारीको व्यवस्था पनि छैन,’ पन्तले भनिन् ‘पर्यटलकलाई कुन ठाउँमा कसरी, केमा जाने भनेर जानकारी उपलब्ध गराउने कुनै संयन्त्र पनि छैन । नाका व्यवस्थित बनाउन पटक–पटक आग्रह गर्दा पनि कुनै पनि सुनुवाइ नभएको उनले बताइन् । पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने  सरकारी नारा भए पनि केही काम गर्न नसकेको उनको गुनासो छ ।

‘पर्यटनलाई राज्यले प्रबर्द्धन र प्रचार गर्ने हो भने हामी कोभिडअघिकै अवस्थामा पुग्न सक्छौं,’ पन्तले थपिन्, ‘राज्यले पर्यटन क्षेत्रमा नीतिगत परिवर्तन गर्न नै चाहेन ।’

नाकाको दुरवस्थाबारे स्थानीय, प्रदेश र संघीय सरकार बेखबरजस्तै छन् । यो नाका हुँदै नेपालमा प्रत्येक वर्ष झण्डै दुई लाख पर्यटक भित्रिने गर्छन् ।

null

नाकाभन्दा एक किलोमिटरअघि सिद्धार्थनगर नगरपालिकाले ७ करोड खर्च गरेर पर्यटकलाई स्वागत गेट निर्माण गरे पनि बेलहियामा सरसफाइमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । यो सिजन नेपालमा पर्यटक आउने सिजन हो । बेलहिया हुँदै २४ किलोमिटर नजिकैको लुम्बिनी जाने गाडीसमेत नाकाबाट पर्यटकदेखि अन्य यात्रुले पाउँदैनन् । सुनौलीबाट ५ किलोमिटर यात्रा गरेर भैरहवा आएपछि गाडी परिवर्तन गरेर पर्यटकहरू लुम्बिनी जानुपर्ने अवस्था छ । 

बेलहिया हुँदै सबैभन्दा बढी बौद्ध धर्मावलम्बी पर्यटकहरू आउने गर्छन् । श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, दक्षिण कोरिया, अमेरिका, भियतनामलगायत १०० भन्दा बढी मुलुकका पर्यटक यो नाका हुँदै नेपाल प्रवेश गरेको तथ्यांक छ । 

वार्षिक झण्डै दुई लाखभन्दा बढी विदेशी यहीँ नाका हुँदै नेपाल घुम्न आउने गरेको अध्यागमन कार्यालय, बेलहियाका प्रमुख बासुराम पोखरेलले जानकारी दिए ।

null

‘कोरोना अघिसम्म यो बाटो हुँदै झण्डै दुई लाख पर्यटक नेपाल आउँथे,’ पोखरेलले भने, ‘यसमा भारतीय पर्यटकका तथ्यांक छैन । कोरोनापछि पर्यटक आवागमन घटेको छ । सन् २०२३ जनवरीदेखि जुलाइसम्म ६७ देशमा झण्डै ४० हजार पर्यटक नेपाल भित्रिएका छन् । नाकाको बेहाल छ । व्यवस्थित बनाउन कसैले चाहँदैन । हामी ५ जना कर्मचारी मात्रै छौं । २४सै घण्टा आलोपालो गरेर काम गर्नुपर्ने अवस्था छ ।’ 

पर्यटकको संख्या बढाउन कसैले चासो नदिएको उनले बताए । नाकानजिकै भैरहवा भन्सार कार्यालय छ, जहाँ मालबहाक गाडीको लाइन हुन्छ ।

सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पर्यटकलाई नेपाल प्रवेश गर्न नाक खुम्च्याउन नपर्ने गरी सरसफाइ गर्ने पालिकाको योजना भए पनि विविध कारणले कठिनाइ भइरहेको बताइन् ।

उनका अनुसार नाकाको सौन्दर्यीकरणका लागि कार्य अघि बढाइएको छ । ‘बेलहियाबाट लाखौं पर्यटक भित्रिन्छन्, तर स्थान पर्यटकमैत्री छैन, जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ अधिकारीले भनिन् ।

salt training

कमेन्ट गर्नुहोस्