
स्थलमार्ग हुँदै मुलुकमा धेरै पर्यटक भित्रिने प्रवेशद्वार हो, रूपन्देहीको बेलहिया (सुनौली) नाका ।
काठमाडौं, पोखरा र लुम्बिनीलाई पर्यटकसँग जोड्ने सुनौली नाका दशकौंदेखि अस्तव्यस्त छ । यस नाका हुँदै नेपाल प्रवेश गर्ने पर्यटकहरू हिलो र धुलोमा रुमल्लिँदै भित्रिनुपर्ने बाध्यता छ ।
नेपाल प्रवेश गर्नेबित्तिकै सफा, चिटिक्क र आकर्षक सडक र शहर देखाएर पर्यटकलाई आकर्षित गर्नुपर्ने हो । तर, नेपाल छिर्नेबित्तिकै नाकामा धुलो/धुवाँ, भत्काएर असरल्ल छोडिएका सडक, फोहोर अनि अव्यवस्थित गाडी पार्किङले मुलुकको अव्यवस्था देखाउँछ ।
यो नाका सिद्धार्थनगर नगरपालिका पर्छ । मालबाहक गाडी, रिक्सा, मोटरसाइकल तथा पैदलयात्रुको ठेलमठेल भीडभाड हुन्छ । सुनौलीको प्रवेशद्वारा (गेट)मा ‘वेलकम टु नेपाल’ समेत लेखिएको छैन ।
गाडी पार्किङलाई व्यवस्थित बनाउनका ट्राफिक प्रहरी समेत नाकामा देख्न पाइँदैन । चर्को गर्मीमा बुङ्बुङ्ती उड्ने धुलो र पानी पर्दा हिलाम्मे सडकले नाकामै पर्यटकहरूले नाक खुम्च्याउँछन्, अनि भन्छन्, ‘नेपाल यस्तै रहेछ’ ।

वि.सं. २०६८/०६९ बाट ‘सिक्स लेन’ सडक बनाउने भनेर बेलहिया नाकामा शुरू भएको काम सकिएको छैन । उप्काइएको सडकमा ठूला गाडीले उडाउने धुलो र धुँवाले पर्यटकसँगै स्थानीय बेलहियाबासी पनि आजित छन् ।
सडक किनारको ढल, फोहोर तथा जमेको हिलो पानी गनाएर नाक थुन्नुपर्छ । सीमावर्ती भारतीय बजारमा किनमेल गर्न जाने नेपालीको भीडभाडले अझै कुनै–कुनै बेला नाकामा खुट्टा टेकाउने समेत ठाउँ हुँदैनथ्यो ।
अहिले भैरहवा भन्सार कार्यालयले सीमावर्ती बजारको किनमेलमा अनिवार्य भन्सारको व्यवस्था गरेपछि पारि (भारत) किनमेल गर्न जानेको संख्यामा केही कमी आएको छ ।
नेपाल एसोसियसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाट्टा) लुम्बिनीका अध्यक्ष रचना पन्तले बेलहियामा पर्यटकसँगै भारतमा रोजगारी गरेर फर्किएका नेपालीले निकै सास्ती खेप्नु परेको बताइन् ।

‘पर्यटकलाई व्यवस्थित र सुविधायुक्त सवारीको व्यवस्था पनि छैन,’ पन्तले भनिन् ‘पर्यटलकलाई कुन ठाउँमा कसरी, केमा जाने भनेर जानकारी उपलब्ध गराउने कुनै संयन्त्र पनि छैन । नाका व्यवस्थित बनाउन पटक–पटक आग्रह गर्दा पनि कुनै पनि सुनुवाइ नभएको उनले बताइन् । पर्यटनबाटै आर्थिक समृद्धि हासिल गर्ने सरकारी नारा भए पनि केही काम गर्न नसकेको उनको गुनासो छ ।
‘पर्यटनलाई राज्यले प्रबर्द्धन र प्रचार गर्ने हो भने हामी कोभिडअघिकै अवस्थामा पुग्न सक्छौं,’ पन्तले थपिन्, ‘राज्यले पर्यटन क्षेत्रमा नीतिगत परिवर्तन गर्न नै चाहेन ।’
नाकाको दुरवस्थाबारे स्थानीय, प्रदेश र संघीय सरकार बेखबरजस्तै छन् । यो नाका हुँदै नेपालमा प्रत्येक वर्ष झण्डै दुई लाख पर्यटक भित्रिने गर्छन् ।

नाकाभन्दा एक किलोमिटरअघि सिद्धार्थनगर नगरपालिकाले ७ करोड खर्च गरेर पर्यटकलाई स्वागत गेट निर्माण गरे पनि बेलहियामा सरसफाइमा ध्यान दिन नसकेको स्थानीयको गुनासो छ । यो सिजन नेपालमा पर्यटक आउने सिजन हो । बेलहिया हुँदै २४ किलोमिटर नजिकैको लुम्बिनी जाने गाडीसमेत नाकाबाट पर्यटकदेखि अन्य यात्रुले पाउँदैनन् । सुनौलीबाट ५ किलोमिटर यात्रा गरेर भैरहवा आएपछि गाडी परिवर्तन गरेर पर्यटकहरू लुम्बिनी जानुपर्ने अवस्था छ ।
बेलहिया हुँदै सबैभन्दा बढी बौद्ध धर्मावलम्बी पर्यटकहरू आउने गर्छन् । श्रीलंका, थाइल्यान्ड, म्यानमार, चीन, दक्षिण कोरिया, अमेरिका, भियतनामलगायत १०० भन्दा बढी मुलुकका पर्यटक यो नाका हुँदै नेपाल प्रवेश गरेको तथ्यांक छ ।
वार्षिक झण्डै दुई लाखभन्दा बढी विदेशी यहीँ नाका हुँदै नेपाल घुम्न आउने गरेको अध्यागमन कार्यालय, बेलहियाका प्रमुख बासुराम पोखरेलले जानकारी दिए ।

‘कोरोना अघिसम्म यो बाटो हुँदै झण्डै दुई लाख पर्यटक नेपाल आउँथे,’ पोखरेलले भने, ‘यसमा भारतीय पर्यटकका तथ्यांक छैन । कोरोनापछि पर्यटक आवागमन घटेको छ । सन् २०२३ जनवरीदेखि जुलाइसम्म ६७ देशमा झण्डै ४० हजार पर्यटक नेपाल भित्रिएका छन् । नाकाको बेहाल छ । व्यवस्थित बनाउन कसैले चाहँदैन । हामी ५ जना कर्मचारी मात्रै छौं । २४सै घण्टा आलोपालो गरेर काम गर्नुपर्ने अवस्था छ ।’
पर्यटकको संख्या बढाउन कसैले चासो नदिएको उनले बताए । नाकानजिकै भैरहवा भन्सार कार्यालय छ, जहाँ मालबहाक गाडीको लाइन हुन्छ ।
सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा अधिकारीले पर्यटकलाई नेपाल प्रवेश गर्न नाक खुम्च्याउन नपर्ने गरी सरसफाइ गर्ने पालिकाको योजना भए पनि विविध कारणले कठिनाइ भइरहेको बताइन् ।
उनका अनुसार नाकाको सौन्दर्यीकरणका लागि कार्य अघि बढाइएको छ । ‘बेलहियाबाट लाखौं पर्यटक भित्रिन्छन्, तर स्थान पर्यटकमैत्री छैन, जसले गर्दा पर्यटकहरूमा नकारात्मक सन्देश गइरहेको छ,’ अधिकारीले भनिन् ।