
सङ्खुवासभाको जिल्ला कारागार खाँदबारीमा कैदी हत्या प्रकरणमा थुनछेक बहस शुरू भएको छ ।
हत्या प्रकरणमा मुद्दा चलाइएका व्यक्तिविरुद्ध आजबाट जिल्ला न्यायाधीश टेकनाथ गौतमको इजलासमा थुनछेक बहस शुरू भएको हो ।
हत्या प्रकरणमा जोडिएका १५ अभियुक्तसँग मङ्गलवार बयान सकिएपछि आजदेखि थुनछेक बहस शुरू भएको जिल्ला अदालतका स्रेस्तेदार रामचन्द्र केसीले जानकारी दिए ।
कैदी हत्या प्रकरणमा सात प्रहरी र आठ कैदीविरुद्ध जिल्ला अदालतमा कर्तव्य ज्यान मुद्दा चलाइएको छ ।
झन्डै १२ कानून व्यवसायीले बहस गर्ने उनले जानकारी दिए । दुवै पक्षको बहस सुनेपछि मात्रै इजलासले निर्णय लिनेछ ।
कैदी हत्या प्रकरणमा प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरी, प्रहरी जवान सुमन गुरुङ, कारागार सुरक्षागार्ड दमनसिंह राई, हबल्दार राजकुमार श्रेष्ठ, जवान पवनकुमार महतो, सुरक्षागार्ड नुसन राईविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता भएको छ ।
त्यस्तै उक्त घटनामा कारागारमा कैद भुक्तान गरिरहेका आठ जनाविरुद्ध कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता भएको छ ।
भाग्न खोजेका कैदीलाई नियन्त्रणमा लिएर शुरूमा उनीहरूले कुटपिट गरेर यातना दिएको सीसी क्यामेरामा देखिएको जनाइएको छ ।
गत साउन २४ गते सङ्खुवासभाको मादी नगरपालिका–५ का २० वर्षीय विनोद तोलाङ्गी र नुवाकोटको ककनी गाउँपालिका–७ का २८ वर्षीय आकाश बलामीको सुरक्षाकर्मी तथा केही कैदीबन्दीको कुटपिटबाट मृत्यु भएको थियो ।