
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणको बेला कोभिडका कारण रोकिएका उत्तरी नाका खुलाउन पहल गर्ने बताएका छन् । प्रधानमन्त्रीको हैसियतमा हुन लागेको आफ्नो तेस्रो चीन भ्रमणलाई फलदायी बनाउने उनले बताए ।
संयुक्त राष्ट्रसंघको महासभा र चीन भ्रमण सम्बन्धमा शुक्रवार प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्दै प्रचण्डले कोभिड महामारीपछि नेपालको तर्फबाट चीनमा हुन लागेको पहिलो उच्चस्तरिय भ्रमणले दुईपक्षीय सम्बन्धलाई मजबुत बनाउने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्री प्रचण्डले राष्ट्रसंघको महासभा र चीनको कार्यक्रम एउटै समयमा परेकाले अमेरिकाबाट सिधै चीन जानुपरेको बताए । राष्ट्रसंघको महासभामा नेपालको राजनीतिक घटनाक्रम र शान्ति प्रक्रियालाइ तार्किक निष्कर्षमा पुर्याउन भइरहेका पहलबारे जानकारी गराउने उनको भनाइ थियो ।
राष्ट्रसंघको महासभामा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड शनिवार अमेरिका जाँदैछन् । असोज ५ गते उनी न्युयोर्कबाट चीन प्रस्थान गर्ने कार्यक्रम छ ।