
इंग्लिस प्रिमियर लिग फूटबलमा वुल्भमाथि जीत निकाल्दै लिभरपुलले पहिलो स्थानको म्यानचेस्टर सिटीसँग अंक बराबरी गरेको छ ।
भर्खरै सम्पन्न खेलमा लिभरपुलले घरेलु टोली वुल्भमाथि ३–१ को जीत निकाल्दै सिटीसँग अंक बराबरी अंक बराबरी गरेको हो ।
खेलमा अग्रता भने वुल्भले लिएको थियो । ह्यान ही चानले खेलको सातौं मिनेटमा नै गोल गर्दै घरेलु टोलीले शुरुवाती अग्रता दिलाएका थिए ।
तर, दोस्रो हाफमो शुरुवातीमै लिभरपुल खेलमा फर्कियो । कोडी गाक्पोले ५५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसपछि एन्डेऊ रोबिन्सले ८५ औं मिनेटमा गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । खेलको अतिरिक्त समयमा वुल्भका हुगो बेइनोले आत्मघाती गोल गरेपछि लिभरपुलले सहज जीत निकाल्यो ।
यससँगै लिभरपुलले ५ खेलमा ४ जीत र १ बराबरीसँगै १३ अंक बनाएको छ । यो शीर्ष स्थानमा रहेको सिटीको समान हो । यद्यपि, लिभरपुल गोल अन्तरका कारण लिगको दोस्रो स्थानमा मात्रै छ ।
अहिले साविक विजेता सिटीले वेस्ट ह्यामको सामना गरिरहेको छ ।