
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेका २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ–
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्यूयोर्कमा हुन लागेको संयुक्त राष्ट्रसङ्घको ७८औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै शनिबार त्यसतर्फ प्रस्थान गर्न गरेका छन् ।
उनले २१ सेप्टेम्बरमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यस महासभाको सामान्य बहसको विषय “विश्वव्यापी एकताको पुनर्निर्माण विश्वास र पुनर्जागृतः २०३० को एजेन्डा र यसको दिगो विकास लक्ष्य सबैका लागि शान्ति, समृद्धि, प्रगति र दिगोपनमा तीव्रता दिने” भनी छनोट गरिएको छ । महासभामा सम्बोधनपछि प्रचण्ड असोज ५ गते अमेरिकाबाटै चीन प्रस्थान गर्नेछन् ।
००००
उपप्रधान एवं रक्षा मन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ । प्रधानमन्त्री अमेरिका प्रस्थान गरेपछि राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिएका हुन् ।
००००
नेपाल चिकित्सक संघले आइतबार देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सेवा बन्द गरेको छ । मकवानपुरको हेटौंडास्थित सन्चो अस्पतालमा कार्यरत दुई चिकित्सकमाथि आक्रमण भएको विरोधमा संघले आकस्मिकबाहेकका सेवा बन्द गरेको हो ।
यही भदौ २७ गते दुई डाक्टरमाथि बिरामीको उपचार गरिरहेको अवस्थामा सांघातिक आक्रमण भएको थियो । डेङ्गु रोगबाट सङ्क्रमित बिरामीको उपचारमा लापरवाही गरेको भन्दै उनका आफन्तले दुई चिकित्सकमाथि हातपात तथा कुटपिट गरेका थिए । यससँगै माग पूरा गराउनका लागि डाक्टरहरु काम छाडेर आन्दोलनमा होमिएका हुन् ।
००००
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले उपचार गर्न पैसा नभएर वा औषधि किन्ने पैसा नपाएर नेपाली नागरिक कसैको पनि ज्यान जान नदिइने बताएका छन् ।
सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिकाले बाह्रबिसेमा आयोजना गरेको तीज विशेष कार्यक्रममा शुभकामना मन्त्री बस्नेतले पैसा नभएको कारणले औषधि किन्न नपाएर अब कसैको पनि ज्यान जान नदिइने बताएका हुन् ।
००००
काठमाडौंको तीनकुनेमा भएको सामूहिक हत्या प्रकरणको अनुसन्धान गर्न नेपाल प्रहरीले छानबिन समिति बनाएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालयले घटनाको छानबिन गर्न एसएसपी सोमेन्द्रसिंह राठौरको नेतृत्वमा पाँच सदस्यीय समिति बनाइएको उपत्यका प्रहरी प्रमुख एआईजी दीपक थापाले जानकारी दिए ।
उनका अनुसार समितिमा जिल्ला प्रहरी परिसर, काठमाडौंका डीएसपी हरि खतिवडा, उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त, बानेश्वरका निरीक्षक वीरेन्द्र केसी सदस्य रहेका छन् ।
शनिबार बिहान तिनकुनेस्थित दिव्य सःमिलभित्र धारिलो हतियार प्रहार गरेर एकैपरिवारका ३ सहित ४ जनाको हत्या भएको थियो । तीनकुनेस्थित दिव्य सःमिलमा लामो समयदेखि सुरक्षा गार्डका रूपमा कार्यरत दोलखाका अन्दाजी ५६ वर्षीय कुमार भुजेलसहित उनकी श्रीमती र आमाको समेत हत्या भएको हो ।
कुमारसहित उनकी श्रीमती अन्दाजी ५२ वर्षीया अम्बिका भुजेल, आमा ७६ वर्षीया शुभद्रा भुजेल र मोरङ बेलबारी स्थायी घर भएका अन्दाजी २० वर्षका नविन राईको हत्या भएको हो । छानबिन समिति बनेसँगै प्रहरीले अनुसन्धान तीव्र बनाएको छ ।
००००
कर्णाली प्रदेश सरकारले किसान प्रोत्साहन गर्नका लागि यो वर्ष १७ प्रकारका अनुदान दिने भएको छ । चालु आर्थिक वर्ष २०८०–८१ को स्वीकृत कार्यक्रम अन्तर्गत अनुदान दिन लागिएको हो ।
अनुदानका पाउनका लागि कृषि व्यवसायमा लागेका समूह, कृषि सहकारी, उद्यमी र निजी फर्म सञ्चालन गरिरहेका किसानहरुले आवेदन दिन सक्ने प्रदेश कृषि निर्देशनालयले जनाएको छ ।
००००
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भ्रष्टाचारको विषयमा सरकारले पुराना फाइलमात्र होइन, फायर नै खोल्नुपर्ने बताएका छन् ।
शनिबार झापा क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा बोल्दै उनले सरकारले भ्रष्टाचार नियन्त्रणका लागि चालेको हरेक कदममा पार्टीको समर्थन रहेको बताए ।
००००
नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले राजनीतिक व्यक्तित्व एवं नेतामा नैतिक शक्ति हुनुपर्नेमा जोड दिएका छन् ।
शिखा प्रकाशनबाट प्रकाशित विशेश्वरप्रसाद कोइरालाको ‘जेल डायरी’को लोकार्पण कार्यक्रममा उनले कांग्रेसका संस्थापक एवं प्रथम जननिर्वाचित प्रधानमन्त्री विपीले उल्लेख गरेअनुसार नैतिक सत्ता पछिल्लो राजनीतिमा भएकामा आशङ्कासमेत व्यक्त गरेका हुन् ।
००००
नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारी राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण हुने भएको छ ।
विद्यार्थी मोर्चा भित्र रहेको समस्या समाधानका लागि भएको सहमतिअनुसार अब विद्यमान केन्द्रीय समितिलाई पदाधिकारी कायम राखी २३ औं राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गर्ने निर्णय भएको हो ।
सोहीअनुसार यथाशिघ्र विधान सम्मेलन र राष्ट्रिय सम्मेलनको मिति तय गर्ने माओवादी केन्द्रले जनाएको छ ।
००००
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पार्टीका सांसदहरूले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेका छन् ।
उपाध्यक्ष विष्णुप्रसाद पौडेललेको नेतृत्वमा बालुवाटारस्थित नेम्वाङ निवास पुगेको सांसदहरुको टोलीले श्रद्धाञ्जली दिँदै तथा परिवारमा समवेदना गरेका हुन् ।
००००
माओवादीले विशेष रुपान्तरण अभियानले पार्टीका अन्तरविरोधलाई कम गरेको जनाएको छ । अभियानबारे पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्निप्रसाद सापकोटाले जनतासँग माओवादी विशेष रुपान्तरण अभियान नारा अनुसार नै सफल हुँदै गएको बताएका हुन् ।
००००
एमाले अध्यक्ष केपी शर्मा ओलीले आफूले आफैंलाई अब्बल राजनीतिज्ञ नठान्ने बताएका छन् । बालबालिकासँगको अन्तरक्रियामा ओलीले अब अब्बल राजनीतिज्ञ नयाँ पुस्ताबाट जन्मिनुपर्ने बताए ।
००००
ताप्लेजुङमा जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षक पक्राउ परेका छन् । सिदिङ्वा गाउँपालिका‐६ मेहेलेस्थित निलगिरि माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई सोही विद्यालयका एक शिक्षकले करणी गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।