
हरितालिका (तीज) पर्वका अवसरमा पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको घुइँचो लागेको छ ।
तीजमा पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि बिहान ३ बजे नै मन्दिरको चारैवटा ढोका खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पशुपतिनाथ मन्दिर आउने भक्तजनका लागि चारवटा लामको व्यवस्था गरिएको कोषका सूचना अधिकारी गौरीशङ्कर पराजुलीले जानकारी दिए । उनका अनुसार पशुपतिनाथ नित्य दर्शनार्थीलाई कोषल ६ बजे अगाडि नै दर्शन गराइएको थियो । बिहान ६ बजेपछि भने महिला बर्तालुलाई मात्र पशुपतिनाथ मूल मन्दिरमा प्रवेश दिइएको कोषले जनाएको छ ।

पशुपति क्षेत्रमा चारवटै सुरक्षा निकायका समन्वयमा सुरक्षा व्यवस्था मिलाइएको छ । बिहानी समयमा भक्तजन लाममा बसेको आध घण्टामा दर्शन गरी फर्किएका छन् । पशुपति क्षेत्रमा स्वास्थ्य शिविर, निःशुल्क पानी वितरण, खोजतलास केन्द्रलगायत सेवाको पनि व्यवस्था गरिएको छ ।
आज काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिर भनेर चिनिने मखन महादेव मन्दिर क्षेत्रलगायत साना–ठूला शिवालयमा भक्तजनको भीड लागेको छ ।


तस्वीर: ऋषि खतिवडा/लोकान्तर