११ साउन २०८३, सोमबार
न घर रह्यो, न त पैसा

ज्वाइँको विश्वासले ‘दलालको पासो’मा परेका वृद्ध दम्पतीको ‘बर्बादीको कथा’

चेकको विश्वासमा घर पास गरेर दिए, २ वर्ष बित्दा पनि पैसा हात परेन
असोज १, २०८०
काठमाडौं
ज्वाइँको विश्वासले ‘दलालको पासो’मा परेका वृद्ध दम्पतीको ‘बर्बादीको कथा’

रूपन्देहीको शुद्धोधन गाउँपालिका वडा नम्बर– ४ फर्साटिकर निवासी वृद्ध दम्पती रत्नखर र मनरूपा रेग्मीलाई राम्रोसँग निद्रा पर्न छाडेको झण्डै २ वर्ष भयो । 

परोस् पनि कसरी ? ऋण लागेर आपत् परी बिक्री गरेको घरको ६४ लाख रूपैयाँ पैसा नपाएपछि वृद्ध दम्पती ‘बिलखबन्द’ मा परेका छन् । १५ धुरमा बनेको एक तले घर बिक्री गरेको दुई वर्ष भयो, तर पैसा हात परेको छैन ।

आफ्नै ज्वाइँको विश्वासमा परेर बिक्री गरिएको घरको पैसा हातमा नपरेको पीडा त छँदैछ, अर्कातिर घरजग्गाको स्वामित्व एकपछि अर्को व्यक्तिको हातमा पुगिरहेको छ ।

रेग्मी दम्पतीको यो पीडाको कथा वि.स‌ं. २०७८ मंसिर १५ गतेबाट शुरू हुन्छ । 

मनरूपालाई ज्वाइँ (माइली छोरीका श्रीमान्) राजेश लम्सालले १५ मंसिर २०७८ मा मालपोत कार्यालय रूपन्देहीमा लगे । जग्गा पास गर्ने बेलामा जग्गा किन्न आएका कपिलवस्तुका खुम्बस गिरीले शर्त राखेर विभिन्न मितिका चेक दिन्छु भने ।

केही नबुझेकी वृद्ध मनरूपालाई राजेशले कसैलाई जानकारी समेत नदिई मालपोत पुर्‍याएका थिए । राजेशले चेक दिएपछि पैसा साटिन्छ, पीर गर्नुपर्दैन भनेर ज्वाइँले भनेपछि उनकैको विश्वासमा मनरूपाले आफ्नो नाममा रहेको कित्ता नम्बर २३८६ को जग्गा तथा घर कुम्भसको नाममा रजिस्ट्रेसन पास गरिदिइन् ।

null

‘पैसाको चौपट खाँचो थियो, अप्ठ्यारो परेपछि ऋण लिएर खर्च चलाएका थियौं, ज्वाइँको विश्वासमा परेर राजीनामा पास गरिदिएँ, तर पैसा कहिल्यै आएन,’ मनरूपाले दुःखेसो पोखिन् ।

बुटवल उपमहानगरपालिका–१२ तामनगर निवासी माया सुवेदीले जग्गा खरिद गर्ने गिरीलाई ज्वाइँ लम्सालसँग सम्पर्क गराएकी थिइन् । 

‘पैसा पाइन्छ भनेपछि कुनै आनाकानी नगरी हुन्छ भनें,’ वृद्ध रत्नखरले भने, ‘ज्वाइँले दलाल ल्याएर हाम्रो जग्गा अपरिचित व्यक्तिलाई बेचाए । अहिले यस्तो भयो, पैसा पाइएन ।’

ज्वाइँले नै आँखा चिम्लिएर बिचौलियाको पञ्जामा परिदिएको उनको गुनासो छ । 

‘आफन्त (ज्वाइँ)ले आँखा चिम्लिएर बिचौलियाको पञ्जामा पारिदिएपछि हाम्रो सम्पत्ति फस्यो,’ गहभरी आँसु पार्दै उनले भने ।

७२ वर्षका रत्नखर र ६५ वर्षकी मनरूपका ६ छोरीमध्ये ५ जनाको बिहे भइसकेको छ । कान्छी छोरी १७ वर्षीया आशा रेग्मीले बाआमाको स्याहार गर्छिन् ।

घर पास गर्दा गिरीले सोही दिनको मितिमा १० लाख रूपैयाँको चेक काटेर दिए । सो चेक पनि नसाटिएको र त्यसबापतको ४ लाख रूपैयाँ नगद ल्याएर दिएको मनरूपाले बताइन् । 

null

त्यस्तै वि.सं. २०७८ माघ १५ गतेको मितिका लागि २५ लाख रूपैयाँको दोस्रो चेक काटिएको थियो भने २०७८ चैत ३० गतेका लागि २८ लाख रूपैयाँको तेस्रो चेक काटिएको थियो । ती सबै चेकको रकम जोड्दा ६३ लाख हुन आउँछ । त्यसबाहेक एक लाख रूपैयाँ छुट्टै नगद दिएकाले ६४ लाख रूपैयाँको हिसाब निस्किन्छ ।

nullnull

तर, घर खरिद बिक्री गर्दा ७० लाखमा कागज भएको देखिएको छ । बाँकी ६ लाख रूपैयाँ बिचौलियाले आफ्ना लागि छुट्ट्याएको पाइएको छ ।

घर किनबेचमा मुख्य भूमिका खेलेकी बिचौलिया माया सुवेदीले धोका दिँदा ससुरालीसँगको पारिवारिक सम्बन्ध समेत बिग्रिने अवस्थामा पुगेको ज्वाइँ राजेशले बताए ।

‘म विदेश बसेर आएको मान्छे, जग्गाको कारोबार अहिलेसम्म गरेको थिइनँ, आफ्नै ससुरालीको घर बिक्रीका लागि माया सुवेदीले घर खरिद गर्ने मान्छे ल्याएपछि म पनि विश्वासमा परेर खरिद बिक्रीको काम भएको हो,’ राजेशले भने ।  

पीडित परिवारले चेकबाउन्समा उजुरी हाल्ने तयारी गरे पनि घर किन्ने खुम्बसले नगद ल्याएर दिन्छु भन्दै झुलाएर ६ महिना कटाएको र अहिले काठमाडौंमा बस्दै आएको बताएका छन् ।

चेक काटेको मितिले ६ महिना नाघेमा चेकबाउन्समा उजुरी नलाग्ने कानूनी व्यवस्था छ ।

पीडितले आफूहरूमाथि ठगी गरेको भन्दै जिल्ला प्रहरी कार्यालय, रूपन्देहीमा उजुरी दर्ता गराएका छन्, तर प्रहरीले यसबारेमा कुनै कारवाही अघि बढाएको पाइएको छैन ।

null

दुवै पक्षबीच मध्यस्थकर्ताको भूमिका खेलेकी मायाले कुम्बसले घर खरिद गरेर पैसा नतिरेकाले आफू तनावमा परेको बताइन् ।

‘मैले नै कारोबार गराएकी हुँ, तर खरिद गर्ने कुम्बसले पैसा दिन्छु भनेर बारम्बार झुक्याइरहेका छन्, यसले मलाई समेत समस्यामा पारेको छ’ उनले भनिन् । 

रेग्मी दम्पतीको जग्गा खरिद गर्ने खुम्बस अहिले फोन अफ गरेर सम्पर्कविहीन बनेका छन् । उनले उक्त घर तेस्रो व्यक्ति सिर्जना श्रेष्ठलाई बिक्री गरिसकेको मालपोत कार्यालय भैरहवाको रेकर्डमा देखिन्छ ।

रेग्मी दम्पतीकी कान्छी छोरी आशाले दलालले आफ्नो सम्पत्ति खाइदिएपछि पारिवारिक पीडासँगै आफ्नो अध्ययनलाई समेत अघि बढाउन नसकेको गुनासो गरिन् ।

कक्षा १२ सम्म अध्ययन गरेकी उनले जग्गा बेचेर आएको रकमले साहुको ऋण तिर्ने र बाँकी रकमले घर खर्च एवं आफ्नो अध्ययनका लागि खर्च गर्ने योजना रहेको सुनाइन् ।

‘भिनाजुको विश्वासमा बुवाआमा पर्नुभयो, त्यो बेला म थिइनँ । पछि पैसा आउँछ भन्दाभन्दै २ वर्ष हुन लाग्यो, पैसा आएको छैन,’ छोरी आशाले भनिन् ।

गाउँका सोझा नागरिकको जग्गा झुक्याएर पास गराएको स्थानीयबासीले बताएका छन् । सरकारले यी पीडित दम्पतीलाई न्याय दिलाउन भूमिका खेल्नुपर्ने उनीहरूको भनाइ छ । 

salt training

कमेन्ट गर्नुहोस्