
काठमाडौं, ४ असोज– आयल निगमका कार्यकारी निर्देशक पदबाट बरर्खास्तीमा परेका गोपालबहादुर खड्काले सरकारको निर्णय विरुद्ध अदालतमा मुद्दा दायर गरेका छन् ।
खड्काले आफूलाई चार वर्षका लागि नियुक्त गरिएको र त्यसको म्याद २०७५ माघ १२ गतेसम्म रहेको रिटमा उल्लेख गरेका छन् । रिटमा उनले मुख्य गरी चार वर्षका लागि आफूलाई नियुक्त गरिएको र गैर कानुनी रुपमा पदबाट हटाइएको जिकिर गरेका छन् ।
खड्काले आयल निगमको जग्गा खरिदका विषयमा प्रकाशित समाचरविरुद्ध गाली बेइजतीको मुद्दा काठमाडौं जिल्ला अदालतमा विचाराधीन रहेको उल्लेख गरेका छन् ।
खड्काले रिटमा आफूलाई हटाइएको आधिकारिक पत्र प्राप्त नभएको र आफूले विभिन्न सञ्चार माध्यमबाट खवर पाएको उल्लेख गर्दै दशैको लामो विदा शुरुहुन लागेको बेला पारेर सुनुवाईको मौकासमेत नदिइ हटाउन खोजेको उल्लेख गरेका छन् ।
खड्काले आफूलाई हटाउने निर्णय कार्यान्वयन नगर्न नगराउन अन्तरिम आदेशको माग गरेका छन्।